१५ साउन, सप्तरी । सप्तरीको राजविराज क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हिजो बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको प्रशासनले आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म रहेको छ ।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा कर्फ्युको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

