माइतीघर मण्डलामा विकासका नाममा जारी प्रतिगमनविरूद्ध प्रदर्शन

१४ फागुन, दाङ । काठमाडौंको माइतीघर मण्डलामा विकासका नाममा जारी प्रतिगमनविरूद्ध प्रदर्शन गरिएको छ ।

बृहत् नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवाः देय् दबूको संयोजनमा विभिन्न खलःपुचःमोर्चा÷अभियानले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले सुकुम्बासीलाई आदिवासी बनाउन पाईदैन,कानुनी राज्यको प्रत्याभूत गर, सर्वोच्च आदेशको पालना गर, बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गर लगायत नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

यसअघि गत बुधबार बिहान काठमाडौं महानगरपालिकाले बाइपास सडक क्षेत्रमा सूचना केन्द्र स्थापना गर्न बाँस र जस्ताका बार लगाएको थियो। त्यसपछि पीडित परिवार तथा सडक विस्तार पीडित संघर्ष समितिको टोलीले विरोध जनाउंदै सो बार भत्काएको थियो ।

विरोध तथा सर्वोच्चको आदेशविपरीत स्थानीयकै जग्गामा सूचना केन्द्र बनाउन लागेको भन्दै त्यहांका ३९ घर परिवारले विरोध गर्दै आएका छन् ।