प्रधानाध्यापक श्रीधर घिमिरे आफ्नै घरको आंगनमा मृत अवस्थामा फेला

१४ फागुन, दाङ । दाङ घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै घरको आंगनमा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइतीको गएका कारण हिजो बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्लाबाट लडेर घिमिरेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । ‘उहांको शव घरको दोस्रो तल्लाको शौचालय मुनि आँगनमा फेला परेको हो,’ डिएसपी रिजालले भने, ‘शौचालय जान खोज्दा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

घिमिरेको कोठाको प्रकृति हेर्दा राति उनले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ । मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिए ।

उहांको शरीरमा अन्त कतै चोटपटक छैन, गाला धस्सिएको छ र नाक, मुखबाट रगत आएको अवस्थामा शव फेला परेको छ,’ रिजालले भने ‘शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।