२० माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू हनुमान शैलीमा घुँडा टेक्न पुगेको टिप्पणी गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपालले आफूलाई हटाउने योजनाका साथ कांग्रेस सभापति देउवाकहाँ ल्याप्चे लगाउन पुगेको आरोप लगाए ।
अस्ती माधव नेपाल १८ गते शेरबहादुर देउवाजीकहाँ गएका थिए । रामका अगाडि हनुमान घुँडा टेकेर प्रणाम गर्छन् नि, हो त्यसरी बसेका थिए,’ ओलीले भने, ’उनले दुई वर्षका लागि तपाईं नै प्रधानमन्त्री हुनु हामी सही गरिदिन्छौँ भन्दै सहयोग मागेछन् ।
ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिएर नेता नेपाल देउवाकहाँ ल्याप्चे लगाउन पुगेको आरोपसमेत लगाए। ’देउवासामू घुँडा टेकेर, प्रधानमन्त्री पद लिखित रूपमै दिन्छु भनेर, ल्याप्चे लाउँछु भनेर हिँडिरहनुभएको छ’, उनले भने, ’उहाँहरुको भित्री आशय जे छ अहिले त्यही प्रकट हुँदैछ । अब उहाँहरुको मुकुण्डो खुइलियो । अब तपाईं हामी सही ढंगले सचेत बाटोमा अघि बढ्छौँ ।’