खुमलटारमा प्रचण्ड र ओली बीच सवाल जवाफ सुन्ने बामदेव

४ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र ’प्रचण्ड’ बीच खुमलटारमा आज भेटवार्ता भएको छ । दुई अध्यक्षबीच आज सवाल जवाफमै सिमित बनेको बुझिएको छ । ओली र प्रचण्डबीच झण्डै ३५ मिनेट एक्लाएक्लै भएको वार्तामा दुवै अध्यक्षले पूर्ववत अडान नछोडेपछि विवाद जस्ताको तस्तै रहेको छ ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । ओलीसँगको भेटवार्ताका क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले सम्वाद सुरु गर्दै नेकपा ठूलो त्याग, तपस्या र बलिवादनबाट बनेको पार्टी भएकाले हरहालतमा फुटबाट जोगाउनुपर्ने धारणा राखेका थिए ।

‘यो पार्टी तपाईं हामी सबैको त्याग, तपस्या र बलिदानबाट बनेको हो । यसप्रति धेरै जनता र नेता कार्यकर्ताको भरोसा पनि छ । त्यसकारण पार्टी एकतालाई मजबुुत बनाउनुपर्ने जिम्मेवारी हामीममा छ । त्यसै भताभुंग हुन दिनुहुँदैन,’ प्रचण्डले कुराकानीका क्रममा भनेका थिए, ‘यसले कसैको पनि भलो गर्दैन ।

प्रचण्डले आफ्ना भनाइ पछि प्रधानमन्त्री ओलीले ‘पार्टी एकता कायम राख्ने हो, तर त्यो गर्न पहिला तपाईंले ममाथि लगाएको आरोपपत्र फिर्ता गर्नुस्’, भनेर प्रचण्डलाई आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले त्यो अभियोगपत्र नभएको भन्दै दस्तावेजका रुपमा आएको स्मरण गराएका थिए । ‘त्यो आरोपपत्र वा अभियोपत्र जे भन्दै हुनुहुन्छ त्यसो होइन, त्यो त पार्टीको दस्तावेज भइसक्यो र अब मैले फिर्ता लिएर पनि फिर्ता हुदैन’, ओलीलाई प्रचण्डको जवाफ थियो ।

प्रचण्ड उक्त प्रस्ताव ओलीकै कारण आएको पनि दोहोर्याएका थिए । ‘तपाईंले गर्दा नै त्यो प्रस्ताव आएको हो । बरु पार्टी कमिटीमा पुगिसकेकाले त्यो प्रस्ताव त्यही छलफल गरेर जे गर्दा उचित हुन्छ त्यही गरौँला’, प्रचण्डले ओलीलाई आस्वस्त पार्ने प्रयास गरेका थिए ।

‘पार्टी कमिटीले जे निर्णय गर्छ त्यो स्वीकारौला । कमिटिले फिर्ता लिनु भन्यो भने त्यहीँ लिउँला,’ प्रचण्डले यति भनेपछि ओलीको मुड बदलिएको थियो ।

ओली र दाहालबीचको सवाल जवाफ चल्दै गर्दा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए । गौतम भने दुई नेताको सवालजवाफ सुनेर बसेका थिए । ओलीको प्रस्ताव फिर्ता लिनुपर्ने आग्रहलाई प्रचण्डले अस्वीकार गरेपछि ओली ‘पहिला प्रस्ताव फिर्ता नलिने भए केही पनि हुन्न’ भन्दै उठेर हिँडेका थिए । खुमलटारबाट निस्केपछि ओली सचिवालय सदस्य रामबहादुर थापा वादललाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका थिए ।

नेकपाको स्थायी समिति बैठक पुस ५ गते आइतबार बस्दैछ । उक्त बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने कार्यसूची छ । तर यही विचमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश संशोधन गरेर आफुअनुकुलका नियुक्तीहरु गर्न बाटो खोलेका थिए । जसको पार्टीभित्र र बाहिरसमेत चर्को विरोध भइरहेको छ । अध्यादेश फिर्ता बुधबार बसेको बैठकले निर्देशन गरेपनि ओलीले अझै फिर्ता गरेका छैनन् । अध्यादेश फिर्ता नगरे प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुह पुनः संसदको विशेष महाधिवेसन माग गर्ने तयारीमा छन् ।