यदि नेकपा फुटिहाल्या भने यस्तो खालको समिकरण पनि बन्न सक्छ ?

२ मंसिर, काठमाण्डा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको खण्डमा नयाँ समिकरणमा नेताहरू लाग्ने सम्भावित आँकलन गरिएको छ । अब पार्टी विभाजन हुँदा एमाले र माओवादी नहुने त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताई सकेका छन् ।

नेकपा फुट्नेतर्फ प्रायः नेताले संकेत गरिरहेका छन् । यस्तो अवस्था आएको खण्डमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक लाइनमा एकीकृत माक्र्सवादी लेलिनवादी (एमाले) गठन हुनेछ । यो पार्टी निर्वाचन आयोगमा दर्ता नै छ ।

उता प्रचण्डको नेतृत्वमा नेकपा नै रहनेछ । प्रचण्ड नेतृत्वको पार्टीले माओवादी विचारधारालाई भने सैद्धान्तिक लाइन बनाउने छैन । उसले माक्र्सवादलाई नै अगाडि सार्दै २१ औं शताब्दिको जनताको जनवादलाई अँगाल्नेछ ।

को नेता कता ?

ओली नेतृत्वको पार्टीमा पूर्वमाओवादीका तर्फबाट केही नेता सामेल हुनेछन् । ओली नेतृत्वमा सचिवालयमा रहेका महासचिव विष्णु पौडेल, सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा बादल हुनेछन् भने स्थायी समिति सदस्यहरू प्रदिप ज्ञवाली, शंकर पोखरेल, योगेश भट्टराईलगायत हुने अनुमान गरिएको छ ।

प्रचण्डसँग भने बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौत, प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनेछन् । एउटा लिखित सहमतिका आधारमा मात्रै बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डलाई साथ दिन सक्ने अनुमान गरिएको छ ।

नेकपाभित्र गम्भीर विवादका कारण पार्टी जोगाउन कठिन अवस्था रहेको नेताहरूले बताएका छन् । सचिवालय बैठकमा प्रचण्डले राखेको एकल प्रतिवेदन वा प्रस्ताव फिर्ता नलिएको खण्डमा पार्टी विभाजनमा जान सक्ने खतरा बरिष्ठ नेताहरूले नै जनाइसकेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले त उक्त प्रस्ताव फिर्ता नभए विग्रह हुने बताइसकेका छन् भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले पनि पार्टी विभाजनको संकेतसहित ट्वीट गरिसकेका छन् ।

उता पूर्वमाओवादी खेमाका दोस्रो तहका केही नेताले त्यस्तै संकेत गरेका छन् भने उपाध्यक्ष गौतमले उक्त प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने दाबी समेत गरिसकेका छन् । उनले ‘यो ५ जनाको सामूहिक प्रस्ताव’ रहेकाले फिर्ता नहुने बताएका छन् ।

नेकपा विभाजनमा गएको खण्डमा दुवैको अवस्था ५०–५० प्रतिशतको भने नहुने स्पष्ट छ । यसपटक भने प्रचण्ड नेतृत्वमा ६० र ओली नेतृत्वमा ४० प्रतिशतको हिस्सेदारीमा नेता, सांसद र स्थानीय तहका नेता कार्यकर्ता विभाजित हुन सक्ने अनुमान गरिएको छ ।

उच्च स्रोतले भन्यो,‘सकभर विभाजन रोकेर जाने विषयमा नेता नेपालको भूमिका प्रभावकारी देखिन सक्छ । अबको सचिवालयमा यस्तो भूमिकामा पूर्वएमालेका बरिष्ठ नेता नदेखिए टकरावले नयाँ मोड लिनेछ ।’

प्रचण्ड पक्षको मत ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद त्याग्नुपर्ने र आत्मआलोचना गर्नुपर्ने छ भने ओलीले निर्वाचित अध्यक्ष भएका कारणले कुनै पद नत्याग्ने बताएका छन् । अहिले प्रधानमन्त्री पदबाट आफूले राजीनामा दिएको खण्डमा मुलुकमा फेरि अस्थिरता आउने ओलीको भनाई छ ।

नेकपाको अहिलेको विवाद समाधानका निम्ति दोस्रो तहका नेताहरूको सामूहिक गठजोड बन्न सक्ने पनि धेरैले आँकलन गरेका छन् । महासचिव पौडेल संयोजकत्वमा बनेको विवाद समाधान कार्यदललाई सक्रिय बनाएर समाधानका निम्ति सचिवालय बैठकमा दोस्रो तहका नेताहरूको पत्र वा सन्देश पठाइने तयारी समेत भएको छ ।

नेकपा सचिवालय भोली (बुधबार) दिउँसो १ बजेका लागि बालुवाटारमा डाकिएको छ । उक्त बैठकलाई वार या पारको कसीमा राखेर नेताहरूले नै व्याख्या गर्दै आएका छन् ।