भाइटिका लगाउन जाने क्रममा खुट्टा लडबडिदा खोलामा खस्न पुगि उद्धारकै क्रममा निधन

२ मंसिर, कालिकोट । कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नम्बर ४ राम्नाकोट निवासी २९ वर्षे शक्क रोकायाको हिजो दुखत निधन भएको समाचार प्राप्त भएको छ । हिजो मंसिर १ गते तिहारको अन्तिम दिन त्यसमा पनि भाईटिको दिन रोकाया आफ्नी दिदीबहिनीको हातबाट सप्तरङ्गी भाइटिका लगाउन बहिनीको घर खयरकोट तिर गएका थिए तर विडम्बना उनको भाइटिका लगाउने इच्छा बिचबाटो बाटै सदाका निम्ति अन्त्य हुन पुग्यो । रोकाया रास्कोट नगरपालिका फुकोटमा कार्तिक ३० गते कान्छी बहिनीको घरमा परेको (जुठो) १३ दिने कर्मसिद्धिका लागि गएको र हिजो भाईटिका परेकाले सोही बाटो टिका लगाउन भनी पचालझरना २ खयरकोटमा दिदीबहिनीको घरतिर लागे । भात्ततडी पुल तरेर सोही बाटो हुँदै वडा नम्बर १ को नेटामा हिड्ने क्रममा खुट्टा लडबडिदा करिब ३ सय मिटर तल खोला खस्न पुगेका थिए ।

दिउँसो ३ बजेतिर भएको सो घटना ४ बजे मात्र स्थानीयलाई थाहा भएको र रोकाया जिउँदे रहेको अवस्थामा करिब आधा घन्टा तल भत्ताडिमा बोकेर लगिएको सो बेला सम्म पनि सास रहेको बुझिएको छ । भात्तडीमा राखेर मान्मतिर लैजाने भनि एम्बुलेन्स वा अरु सवारी सधानको समयमै उपलब्धता नभएको र गाडी पनि नचलेको तथा अरु कुनै विकल्प नभएर करिब डेढ घन्टा भात्तडीमा राखिएको अवस्थामा बेलुका करिब ६ः३० मा रोकायाको सास फेर्न रोकिएको कुरा उनका दाजु रण रोकायाले हामीलाई बताएका छन् ।

हिजो राती नै मृत रोकायालाई भात्तडीबाट पालिकाको केन्द्र तथा जन्मस्थल जारकोट लगेर जारकोट स्वास्थ्य चौकीमा राखिएको र आज बेलुका ५ बजे मात्र मान्म सदरमुकाम बाट चिकित्सकको टोली आएर पोष्टमार्टन रिर्पोट गरी बल्ल अहिले ६ बजेतिर दाहासंस्कारका लागि घाटस्थलमा लगिएको बुझिएको छ । तर चिकित्सकको पोष्टमार्टनमा के भनिएको छ त्यो भने हामीलाई प्राप्त भएको छैन ।

दुर्घटना भएको अवस्थामै रोकायाको उद्दार गरिदिएको भए बचाउन सकिने विकल्प पनि थियो तर त्यो पनि नहुन सक्दा रोकायाले कलिलै उमेरमा यो संसार छोडेर जानु पर्ने भयो । स्वर्गवास रोकायाको मृत आत्माले स्वर्गमा बास होस्, शान्ति मिलोस, सोकाकुल परिवारजनप्रति समवेदना प्रकट छ ।