बजारमा तरकारी किनिसक्नु छैन, खुद्रा व्यापारीको मनलाग्दी भाउ

२४ असोज, काठमाण्डौ । कोरोना भाइरसको कहर त छदै थियो त्यसमा दसैं नजिकनजिक आउन थालेपछि तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ । गाजर बाहेक सबैजसो तरकारीको भाऊ बढेको छ । इस्कुस बाहेक प्रायः सबै तरकारीको मूल्य ‘थ्री डिजिट’ मा बढेको छ ।

कालिमाटी तरकारी बजारको थोक मूल्यलाई आधार मान्दा खुद्रा बजारमा प्रायः सबैजसो तरकारी प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको छ ।

लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महंगो भएको व्यवसायीहरुले तर्क गरे पनि चाडबाडका बेला मनोमानी भाऊ बढाइएको हुन सक्ने उपभोक्ताको गुनासो रहेको छ ।

अझै एक महिना तरकारीको मूल्य घट्ने अवस्था देखिदैन ।

कालिमाटीको थोक बजारमा शनिबार गोलभेडाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा माथि पुगेको छ । एक हप्तायता गोलभेडाको मूल्य प्रतिकिलो ७ देखि १५ प्रतिशतले बढेको हो । केही हप्ताअघिभन्दा गोलभेडा सस्तो भए पनि यो हप्तादेखि फेरि बढेको छ ।

यो वर्ष आलु पनि चरम महंगो भएको छ । अहिले भारत, भुटान र बंगलादेशबाट आलु आयात भइरहेको छ । रातो आलु थोकमै प्रतिकिलो १०० रुपैयाँ माथि पुगेको छ । भारतीय रातो आलुको मूल्य थोकमा ६५ रुपैयाँ हाराहारी पर्छ । मुडेको रातो आलु पनि थोकमै प्रतिकिलो ८५ रुपैयाँ बराबर पर्छ ।

बन्दाको मूल्य पनि थोकमा किलोको ७० रुपैयाँ भन्दा माथि छ । स्थानीय काउलीको थोक मूल्य किलोमा १२० रुपैयाँ भन्दा बढी छ ।

यो हप्ता लामो भन्टाको मूल्य पनि ह्वात्तै बढेको छ । करिब आधाभन्दा बढी मूल्य बढेर लाम्चो भन्टा थोकबजारमै किलोमा १५० रुपैयाँ नाघेको छ । तने बोडी पनि करिब १५ प्रतिशत महंगो भएर थोक बजारमै किलोमा १५५ रुपैयाँ पर्न थालेको छ ।

लोकल घिउसिमी एकहप्ताअघि थोक बजारमा ७० रुपैयाँमा बिक्री भइरहेको थियो, अहिले बढेर १०० को हाराहारी पुगेको छ । हाइब्रिड घिउसिमी पनि ८० रुपैयाँबाट ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ । भटमास कोसाको प्रतिकिलो ६० रुपैयाँ हाराहारीमा थोक मूल्य छ । एकहप्ताअघि ७० रुपैयाँमा पाइने तितेकरेला थोक बजारमै प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ ।

लौकाको मूल्य एक हप्तामा २० प्रतिशत बढेको छ । एक हप्ताअघि थोकमा ६० रुपैयाँमा पाइने लौकाको मूल्य ७५ रुपैयाँ पर्छ । खुद्रामा पुग्दा प्रतिकिलो एक सय रुपैयाँ नाघेको छ ।

परबरको मूल्य पनि थोकमै १०५ रुपैयाँ पुगेको छ । घिरौंला थोकबजारमै प्रतिकिलो ११५ रुपैयाँ भन्दामाथि छ । एक हप्ताअघिसम्म घिरांैला ८५ रुपैयाँमा पाइन्थ्यो ।

झिँगुनीको मूल्य पनि ८० रुपैयाँभन्दा माथि छ । एक हप्ताअघि ९८ रुपैयाँ प्रतिकिलोमा पाइने भिन्डीलाई अहिले थोकमै ११५ रुपैयाँ तिर्नुपर्छ ।

रायो, पालुंगो र चम्सुरको साग थोक बजारमा प्रतिकिलो १०० रुपैयाँ पर्छ । तोरीको सागको मूल्य पनि बढेर ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

डल्ले र कन्य च्याऊ १५ देखि २० प्रतिशत महंगो भएको छ । एक हप्ताअघि थोकमा १४५ रुपैयाँमा कारोबार भएको कन्य च्याउ अहिले प्रतिकिलो १८५ रुपैयाँ भएको छ । डल्ले च्याउ ३५५ बाट ४१० रुपैयाँ पुगेको छ ।

निगुरो र गान्टे मुला थोकबजारमै किलोमा ९५ रुपैयाँ पर्न थालेको छ । पिँडालु प्रतिकिलो ६० रुपैयाँ पर्छ । पाकेको फर्सी भने ३८ रुपैयाँ प्रतिकिलोमा किन्न पाइन्छ । सेतो मुलाको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ हाराहारी छ ।

कागती प्रतिकिलो १३५ बाट बढेर १५५ रुपैयाँमा पुगेको छ । भेडे खुर्सानी किलोको १५५ रुपैयाँ पर्छ । हरियो लसुनको मूल्य प्रतिकिलो २४५ रुपैयाँ छ । हरियो प्याजको मूल्य प्रतिकिलो १४५ रुपैयाँ छ । भारतीय सुकेको प्याजको थोक मूल्य किलोमा ११० रुपैयाँभन्दा माथि छ । हरियो धनियाँ एक हप्ताअघि ४२५ रुपैयाँ थियो, अहिले बढेर प्रतिकिलो ४५५ रुपैयाँ पुगेको छ ।

अहिले स्कुस अरुभन्दा सस्तो छ । स्कुसको थोक मूल्य प्रतिकिलो २८ रुपैयाँ छ । तर, यो मूल्य पनि एक हप्ताको बीचमा ५६ प्रतिशतले बढेको हो । एक हप्ताअघि स्कुस १८ रुपैयाँमै किन्न पाइन्थ्यो ।

यो हप्ता गाजरको मूल्य भने अत्यधिक घटेको छ । एक हप्ताअघि ११५ रुपैयाँ प्रतिकिलो रहेको गाजर अहिले किलोमा ६० रुपैयाँमा झरेको छ ।

त्यस्तै खुद्रा व्यापारीले आफूखुसी मनलाग्दो भाउ तोकेर तरकारी बिक्रि गरिरहेका छन् ।