नागरिक लगानी कोषमा सहभागी भएमा पाइने सुविधाहरु

२६ भाद्र, काठमाडौं । नागरिक लगानी कोषले प्रत्येक नागरिकले पेन्सन पाउने गरी एक आकर्षक योजना ल्याएको छ, जुन कार्यान्वयनमा गइसकेको छ । नागरिकले पेन्सन पाउन कम्तिमा पाँच सय रुपैयाँ जम्मा गर्नुपर्नेछ भने बढीमा जति जम्मा गरेपनि पाइन्छ । जति बढी रकम जम्मा गरियो उति बढी पेन्सन पाइने कोषका सूचना अधिकारी उद्वव सिलवालले बताएका छन् ।

‘बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुन्छ, उनले भने, ‘बचत गरेको रकमकै आधारमा बचतकर्ताले ६० वर्ष पूरा भएपछि पेन्सन पाउन सक्नेछन् ।’

मजदुरी गर्ने, रोजगारी भएका, व्यापार व्यवसाय गर्ने, कृषि कर्म गर्ने र अन्य नागरिकले समेत यस योजनामा रकम जम्मा गरेर पेन्सन पाउन सक्नेछन् । यदि कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हुनेछ । तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन ।

पेन्सन योजनामा सहभागी हुन के गर्ने ?

यस योजनामा सहभागी हुन व्यक्तिको परिचय खुल्ने कुनैपनि डकुमेन्ट अथवा नागरिकताको फोटोकपि कोषमा पेश गर्नुपर्नेछ । अफिसमा जोडिएको छ भने उसले अफिसमा पेश गरेको डकुमेन्ट भए हुन्छ र छैन भने नागरिकताको फोटोकपि चाहिन्छ ।

त्यसपछि एउटा केवाइसी फर्म (ग्राहक परिचय खुल्ने फारम) भर्नुपर्छ जुन २ पेजको हुन्छ । यो फाराम कोषको वेभाइट वा कोषको कार्यालयमा गएर लिन सकिनेछ । त्यसपछि ऊ नागरिक लगानी कोषको कार्यालयमा कोषले दिने कार्डका लागि उपस्थित हुनुपर्दछ । सो कार्डमा नम्बर हुन्छ र सोही नम्बरको आधारमा खाता खोलिन्छ ।

त्यसपछि मासिक भुक्तानी मोवाइल, वालेट लगायत विद्युतीय भुक्तानीबाट गर्न सकिन्छ । कम्तिमा ५ सय रुपैयाँ राख्नैपर्छ ।

कति रकम जम्मा गर्दा कति पेन्सन पाइन्छ ?

१५ वर्षमा साँवा व्याज जति जम्मा भएको छ, त्यसलाई १७० ले भाग गर्दा जति हुन आउँछ सोही अनुसार नमरुन्जेल व्यक्तिले पेन्सन पाउनेछ । पेन्सन नै पाउन १५ वर्षसम्म रकम राख्नैपर्छ । तर नागरिकको उमेरहद ६० वर्ष तोकिएको छ । यदि कसैको ६० वर्ष उमेर पुगिसक्यो तर रकम जम्मा गरेको अवधि १४ वर्षमात्र भयो भने उसले पेन्सन पाउनेछैन । त्यसको साँवा ब्याज जति हुन्छ सोही रकम एकमुष्ट पाउँछ । पेन्सन योजनामा जम्मा गरेको रकमको ब्याज अहिले साढे ६ प्रतिशत छ । बजारको अवस्था हेरेर प्रत्येक ६÷ ६ महिनामा पुनरावलोक हुन्छ । साउन १ गतेदेखि लागु हुन्छ । र, पुसमा अर्धवार्षिक समीक्षा हुन्छ ।

यदि कसैले पाँच सय रुपैयाँ राखेको छ भने उसको १५ वर्षमा साँवा ९० हजार रुपैयाँ हुन्छ । त्यसमा बजारको रेट अनुसार ब्याज दिइनेछ । मानौ ५ सय जम्मा गर्नेको पन्ध्र वर्षमा ३० हजार ब्याज आयो भने उसको साँवा र ब्याज गरेर १ लाख २० हजार रुपैयाँ हुन्छ । यसमा १७० ले भाग गर्दा जति रुपैयाँ आउँछ त्यति पेन्सनको रुपमा पाउँछ । मानौ मासिक ५ सय रुपैयाँ जम्मा गर्नेको १५ बर्षमा साँवा र ब्याज गरेर १ लाख २० हजार भयो भने उसले मासिक ७ सय ५ रुपैयाँ पेन्सन पाउँछ । जति रकम जम्मा भयो त्यसको सावाँ ब्याजलाई १७० ले भाग गर्दा जति आउँछ सोही रकम मासिक पेन्सन हुन आउँछ ।

यो पेन्सन योजनाले सबैको पेन्सन पाउने रहरलाई पुरा गर्नेछ । पेन्सन पाउँन सरकारी जागिर नै खानुपर्ने सोच आम नेपालीमा
छ । अब जुनसुकै व्यक्तिले पनि यस योजनमा सहभागी भएर पेन्सन पाउँनेछन् ।