लकडाउन खुकुलोसँगै कोरोनाबाट जोगिन अपनाउनु पर्ने सर्तकता

कोभिड–१९ (कोरोना भाइरस) ले सनसनी मच्चाएको पनि करिब ८ महिना भयो । २०१९ को डिसेम्बरदेखि चर्चामा रहेको यो भाइरसका कारण हालसम्म करिब ६ लाख मानिसहरु मरिसकेका छन् भने भाइरसबाट संक्रमितको सङ्ख्या पनि निक्कै छ । तर सुरुवाती अबस्थामा यो भाइरसले कति क्षति गर्छ भन्ने कुरा कसैले अनुमान लगाउन सकेनन् ।

यो भाइरसलाई १०० बर्ष अघिको स्पेनिस फ्लुको भन्दा पनि खतरा भाइरसको हिसाबले प्रचार गरियो । करिव १०० बर्ष अघि स्पेनिस फ्लुले करिब १० करोड मानिसको हताहाती भएको अनुमान गरिन्छ । यति धेरैको सङ्ख्यामा मानिस मार्न सक्ने फ्लु सँग तुलाना हुँदा कोरोनाले संसार हल्लाउनु स्वभाविक थियो । कुनै पनि कारण मानिस मर्नु आफैँमा नराम्रो हो। कोभिड–१९ बाट पनि करिब ८ महिनामा संसारभर मानिस मर्नु पनि धेरै दुःखद हो । तर जुन हिसाबले प्रचार गरियो, त्यो हिसाबले कोभिडबाट मानिस नमर्नुलाई सुखद हिसाबले लिनै पर्छ । सोचेको भन्दा क्षति कमनै भए पनि नागरिक सचेतनाका कारण हुने भन्दा पनि कम क्षति हुन्छ भने नागरिकहरुले अपनाउनु नागरिकको समाज प्रतिको उत्तरदायित्व पनि हुन आउँछ ।

अहिले संसार भरिबाटै वन्दावन्दी (लकडाउन) हटिरहेको छ । हाम्रो देश नेपालमा पनि लकडाउन करिब करिब हटिसकेको छ । यस्तो अबस्थामा नागरिकले समाजका लागि निभाउनु पर्ने कर्तव्य के हो ? भन्ने ख्याल गरेर सामान्य सुरक्षा विधि अपनाउने हो भने कोभिड–१९ फैलिनबाट रोक्न वा कम गर्न सकिन्छ भन्ने विभिन्न स्वास्थ्य बिद्धवानहरुका आग्रहलाई अनुशरण गरौँ ।

अब के गर्ने ? के नगर्ने ?

१.  पोशाक : मास्क, पञ्जा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुन पानीले धुन मिल्ने सेन्थेटिक जुत्ता लगाउने ।

२ . बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता अपनाउने ।

३. काम गर्ने ठाउँमा ः साबुनपानी, ह्याण्ड स्यानिटाइजर लगाउने, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली केही बदल्ने ।

४ . व्यक्तिगत अभ्यास : खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अन्य मानिस अघिल्तिर गएर नगर्ने, आफ्नो कुहिनाले मुख छोप्ने, मान्छे नभएकोतिर फर्कने, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने । त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने, कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने, मास्क तथा अनुहारमा हात नलग्ने, सेवाग्राहीसंग दुरी कायम गर्ने, सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुन पानी र स्यानिटाइजरको ब्यबस्था गर्ने ।

५ . भिडभाड : आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने ।

६ . किनमेल : सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने, घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने, किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने ।

७ . अस्पताल : सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क र चस्मा लगाउने ।

८.  सार्वजनिक यातायात : सकभर छोटो दुरीक लागि बस नचढ्ने , लामो दुरी भएमा मास्क, चस्मा, पञ्जा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने, सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने र त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने ।

९.  औषधि तथा खाधान्न : न्युनतम १ महिनाको स्टक राख्ने, प्राथमिक उपचारका साधन र औषधि अलिअलि भएपनि घरमा राख्ने ।

१०.  मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश र स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १–२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ ५ मात्र छ । लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससँगै बाँच्ने मानसिक तयारी गर्ने ।

११.  सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने र नसुन्ने, असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने, जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने ।

१२.  मितव्ययी : कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने, अनाबश्यक खर्च नगर्ने, बाहिर खाना र खाजा नखाने, सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने, बच्चालाई गाउँको स्कुलमा पढाउने ।

१३.  घर फर्केपछि : कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने, अनि अरु परिवारसंग भेट्ने ।

१४.  घरभित्रको दुरी : जेष्ठ नागरिक र बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने ।

१५.  अत्यावश्यक तयारी : नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन
नम्बर राख्ने ।

१६.  आत्मबल : आत्मबल उच्च राख्ने, आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने, मनमा डर, त्रास , चिन्ता आदिको पालनपोषण नगर्ने, उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ ।

१७.  व्यायाम : सकभर घरभित्र व्यायाम गर्ने, भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ ।

१८ . खानपिन : ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने, गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने, चुरोट, खैनी, रक्सी सेवन नगर्ने ।

१९ . आत्मनिर्भरता : आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने ।

२०.  व्यवसाय परिवर्तन : अबको २–३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर र होम डेलिभरीको पेशा निकै चल्नेछ, तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने, सामान्यतया माथि उल्लेखित बुँदाहरुलाई अक्षरस पालना गर्ने प्रयत्न गरियो भने पछि आउन सक्ने बिपत्तिहरुमा पनि सामना गर्न सक्ने क्षमताको बिकास
हुनेछ ।

लेखक : नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाका उपाध्यक्ष हुनुहुन्छ ।