नेकपा आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागियो

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बोलीबाट संकटमा परेका छन् । उनले केही दिन अघि एक सार्वजनिक कार्यक्रमा भातरले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्ति दिएका थिए ।

आज बसेको स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग समेत गरेका छन् ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको बताएका थिए ।

अध्यक्ष प्रचण्डले अगाडी भने, मदन भण्डारी जयन्तीको दिन अर्का अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनायो । ओलीको अभिव्यक्तिले नेपालले अझै आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश दिएको मात्र होइन, पार्टीकै नेताहरुमाथि अविश्वास देखिएको बताए । साथै विदेश सम्बन्धमा पनि प्रतिकुल असर पर्ने भन्दै यसबारे छलफल गर्नुपर्ने भएको उनले बताएका थिए ।

प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषय पनि उठाए । कतिपयले केपी ओलीले पार्टी फुटाउँछन् भन्दै आएको र झापाकै मान्छेले दल दर्ताका लागि निवेदन दिएको उल्लेख गर्दै उनले कसले किन नेकपा एमाले दर्ता गर्न खोज्यो भनेर खोजविन गर्नुपर्ने बताएको एक स्थायी कमिटी सदस्यले बताए ।

त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भारतको विरोध गर्दा पार्टीका नेताहरुको चित्त किन दुख्यो ? भन्दै प्रतिप्रश्न गरेका थिए । तर, भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुको सहभागिताबारे थप खुलाएनन् । प्रधानमन्त्रीले आइतबार आफूले भारतीय मिडियाहरुका बारेमा मात्र चर्चा गर्न खोजेको भन्दै आफ्नो भाषणको बचाऊ गरे ।

निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको निवेदनबारे भने आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बैठकमा बताए । उनले बैठकमा भनेका थिए, ‘दल दर्ता कसले किन गर्न खोनेको हो, मलाई थाहा छैन । मचाहिँ नेकपाकै मान्छे हुँ, यो पार्टीको अध्यक्ष हुँ ।

साथै उनले ननईश्यूलाई ल्याएर पार्टीको बैठकमा किन छलफल गर्न खोजेको भन्दै प्रचण्डमाथि नै प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले दल दर्ता र भारतले सरकार ढाल्न खोजेको प्रमाणबारे प्रष्ट नभएको बताए । तर, त्यसपछि ओली बोलेनन् । त्यसपछि अरु नेताहरुले आफ्नो धारणा राखेका थिए ।

‘ओलीबाट सरकार र पार्टी दुबै चलेन’

प्रचण्ड र ओलीको सवाल जवाफपछि स्थायी कमिटीमा वरिष्ठ नेता झलनाथ खनाल बोलेका थिए । झलनाथ खनालले स्पष्ट रुपमा प्रधानमन्त्रीको राजीनामा मागेका थिए । बैठकमा बोल्ने पूर्वएमालेका नेताहरु प्रचण्डभन्दा कडा रुपमा प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका नेता खनालले ‘हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ? भन्ने प्रश्न गरे ।

ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागे । ‘पार्टीले हटाउँछु भन्यो भने केपी कमरेडले त्यसलाई मान्नुपर्छ । तनाशाहले जस्तो बलजफ्ती गर्न पाइँदैन’ उनले बैठकमा भने, ‘लिखित प्रस्ताव ल्याउँ, छलफल गरौं ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष ओलीप्रति आक्रामकरुपमा प्रस्तुत भएका थिए । उनले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको र त्यसले नै समस्या भएको बताए ।

मंगलबारको बैठकमा नेता नेपालले भने, ‘ओलीलाई विधि होइन, दास चाहिएको छ । पार्टी होइन, गुट चाहिएको छ ।’ यही कारण पार्टी नियोजितरुपमा विर्सजन गर्न खोजिएको त होइन भन्ने शंका लाग्न थालेको उनले बताएका छन् । उनले अघि भनेका छन्, ‘यो पार्टी साना दुःखले बनाएको होइन, सबैलाई चेतना भया ।

उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागे । ओलीले आफ्नो कमजोरी कहिल्यै आत्मसाथ गर्न नसकेको र अहिले पनि त्यो नदेखिएको उनले बताए । गौतमले बैठकमा भने, ‘तपाई पार्टीको सबै ठाउँमा अल्पमतमा पर्नुभएको छ । अल्पमतमा परेपछि स्वतः राजीनामा दिनुपर्ने हो, राजीनामा दिनुस् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए । आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका लागि कूटनीतिक र परराष्ट्र सम्बन्धमाथि खेलबाड भएको भन्दै उनले आपत्ति जनाए । श्रेष्ठले बैठकमा भने, ‘उहाँलाई त्यस्तो लागेको भए पार्टीमा छलफल गर्नुपथ्र्यो । प्रमाण खोजेर राजदूतलाई बोलाएर सोध्नुपथ्र्यो र देश निकाला गर्नुपर्थ्यो ।

तर, नेपालको नयाँ नक्सा छापेका कारण हटाउन खोजेको भन्ने प्रधानमन्त्रीको दाबी गलत भएको उनले बताए । भारतले नेपाली भूमिसमेत समावेश गरेर नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेपछि नेकपा केन्द्रीय समितिले लिम्पियाधुरासहितका भूभाग समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे । तर सरकारले आनाकानी गरेको भन्दै श्रेष्ठले भने, ‘ नक्साको कुरा नीति तथा कार्यक्रममा पनि थिएन, हामीले सचिवालय बैठकबाट मुख्यसचिवलाई फोन गरेर थप्न लगाएको होइन ?

साथै नेपालको नयाँ नक्सा नछापिँदै १७ वैशाखको सचिवालय बैठकमा नेताहरुले राजीनामा माग गरेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको भिव्यक्तिका कारण देश र पार्टी दुबैलाई घाटा लागेको बताएका छन् ।

पार्टी एकतालाई कांग्रेसलाई हराउने र सरकारमा जाने अर्थमा मात्र बुझेका कारण पनि समस्या आएको उनले बताए । प्रधानमन्त्री ओलीमा आफूलाई बम्हज्ञानी ठान्ने, फरक मत राख्नेहरुलाई सत्रु मान्ने, अरुलाई दास बनाउन चाहने, उपयोग गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘हिजोसम्म म यो सरकार सफल हुनुपर्छ भन्थेँ तर अब यो भन्न नसक्ने ठाउँमा पुगेको छु । हाम्रो पार्टीको सरकार सफल हुनुपर्छ भन्छु ।

तर, प्रवक्ता श्रेष्ठ बोल्दा प्रधानमन्त्री ओली बैठकमा थिएनन् ।

त्यसपछि स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्टलगायतले बोलेका थिए । सबै नेताहरुले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति गलत भएको धारणा राखेका
थिए ।

ओलीबाट पार्टी र सरकार दुबै चल्न नसकेको भन्दै उनीहरुले निकास दिन आग्रह गरेका छन् । एक स्थायी कमिटी सदस्य भन्छन्, ‘आज बोल्ने सबै नेताहरुको धारणा समान थियो, पछिल्लो अभिव्यक्तिपछि उहाँ (ओली) ले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । नैतिक प्रश्न पनि उठ्यो, अब मार्गप्रशस्त गर्नुस् ।’

नेताहरुका अनुसार सचिवालय सदस्य रामबहादुर थापा बादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बोल्न बाँकी छ । यस्तै अरु स्थायी कमिटी सदस्यले पनि बोल्न बाँकी नै छ । बुधबारको बैठकमा अरुले बोलेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको जवाफ अपेक्षा गरिएको छ ।