काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय नेकपा एमाले ‘गुमनाम’ जस्तै देखिएको छ ।
जेनजी आन्दोलनपछि सत्ताच्युत भएको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा समेत लज्जास्पद हार बेहोर्दै संसदीय शक्ति क्षीण बनेपछि नेपाली राजनीतिमा गुमनाम जस्तै बन्न पुगेको हो ।
फागुन २१ को निर्वाचनमा २७५ सदस्यीय प्रतिनिधि सभामा एमाले २५ सिटमा सीमित बन्दै तेस्रो दल बन्न पुगेको थियो । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्नु, पार्टीभित्र जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा दुई धार देखिनु तथा कमजोर चुनावी परिणामको जिम्मेवारी लिन ओली तयार नहुनुले पार्टी गतिविधि शिथिल हुँदै गुमनामको अवस्थामा पुगेको हो ।
एमाले गुमनाम हुनुको दृष्टान्त निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा समेत ठोस समीक्षा हुन नसक्नुलाई लिन सकिने एमाले नेता कार्यकर्ताहरू नै बताउँछन् ।
एमाले सचिव भानुभक्त ढकाल अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण पार्टी बैठकहरू बस्न नसकेको बताउँछन् । ‘निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै उहाँलाई पक्राउ गरियो, त्यसपछि उहाँको शल्यक्रिया भयो’, सचिव ढकाल भन्छन्, ‘अहिले पनि उहाँ स्वास्थ्य लाभ नै गरिरहनुभएको छ ।’
युवा पुस्तालाई दलको नेता बनाउनुपर्ने माग उठिरहेका बेला अध्यक्ष ओलीकै जेडबलमा वादललाई दलको नेता बनाउने नेतृत्वको तयारीविरुद्ध त्यसवेला युवापुस्ताका एमाले नेता कार्यकर्ताहरू रुष्ट हुदै पार्टी कार्यालयमै प्रदर्शन समेत गरेका थिए । तर युवाहरुको चाहानाविपरित एमालेले वादललाई नै दलको नेता चयन गरेको थियो ।
यतिसम्म कि युवा पुस्ताका सुहाङ नेम्वाङले दलको नेता हुने चाहाना राखेपनि उनलाई उम्मेदवारी दिनबाटै अनेक प्रपञ्च गरेर रोकिएको थियो । जसले गर्दा एमालेभित्रको विग्रह थप बढ्न पुगेको थियो । त्यसमाथि गत चैत १९ गते बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा दलको नेताको हैसियतले थापाले दिएको अभिव्यक्तिलाई लिएर पार्टीका नेताहरूले नै आपत्ति जनाएका थिए । उनको अभिव्यक्तिपछि उपाध्यक्ष विष्णु पौडेलले सचिवालय बैठक बोलाउन माग गर्दै बादलको अभिव्यक्तिको आशयमाथि प्रस्ट पार्न लगाएका थिए ।
चुपचाप नेता, अन्योलमा कार्यकर्ता
थापा संसदीय दलको नेता चयन भएर उनले दिएको अभिव्यक्ति लगत्तै एमाले नेताहरूबिच सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलदेखि उपमहासचिव योगेश भट्टराई तथा पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे समेतले पार्टीको रूपान्तरणका सवालमा मुख खोलेका थिए । तर अहिले एमाले नेताहरू पार्टीभित्रको किचलोका बारेमा कुनैपनि नेता औपचारिक वा अनौपचारिक बोल्ने चाहँदैनन् ।
‘पार्टीभित्रै अन्योलको अवस्था छ । के बोल्ने विषयवस्तु पनि छैन । यस्तो बेला चुपचाप बस्नुको विकल्प नै छैन’, एक सचिवालय सदस्य भन्छन्, ‘बैठक बसेर छलफल नगरेसम्म केही बोल्न सकिने अवस्था छैन ।’
ती नेताका अनुसार पछिल्ला दिनमा पार्टी अनिर्णयको बन्दीजस्तै बन्न पुगेको छ । ‘पार्टीले ठोस विश्लेषण गरेर नीति कार्यक्रमहरू नबनाउँदा कार्यकर्ता पङ्क्तिमा समेत अन्योलको अवस्था छ’, ती नेताले रातोपाटीसँग भने, ‘बैठक बोलाउन माग गर्दा समेत अध्यक्षले स्वास्थ्यलाई देखाएर चासो दिएको अवस्था छैन ।’
त्यसो त एमालेका केही युवाहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान नै चलाएका छन् । उनीहरूको अभियानलाई महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले समेत साथ दिएको चर्चा भइरहेको छ ।
यस्तोमा सचिवालय बैठक बोलाउँदा ओली अल्पमतमा पर्ने खतरा रहन्छ । यही कुरा बुझेर ओलीले बैठक बसाउन आलटाल गरेको हुनसक्ने कतिपय नेताहरूको बुझाई छ ।
रातोपाटीबाट

