काठमाडौं । फागुन २१ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि नेकपा एमालेका कार्यकर्तामा निरासाता र अहिलेको नेतृत्व असफलताका औल्याउदै एमालेमा नेतृत्व परिवर्तनको माग बढेको छ । निर्वाचन सम्पन्न भएको एक महिनासम्म पनि पार्टीभित्र औपचारिक समीक्षा नभएको, नेतृत्वले अझैसम्म जस नलिएको भन्दै पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने अभियान सुरु भएको छ ।
प्रतिनिधिहरूले हस्ताक्षर अभियान थालेका छन् । पार्टी विधानको धारा ७३ अनुसार दुई तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लिखित मागमा ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
निवेदनमा २०४८ यता संसदीय राजनीतिमा एमालेले सबैभन्दा कमजोर नतिजा प्राप्त गरेको, प्रत्यक्षतर्फ १६५ सिटमा मात्र ९ सिट ५.४५ प्रतिशत र समानुपातिकतर्फ १३.४३ प्रतिशत मत प्राप्त गर्नु नेतृत्व र कमिटी प्रणालीप्रति जनताको अविश्वास रहेको उल्लेख छ । काठमाडौं उपत्यकाका १५ मध्ये ११ क्षेत्रमा जमानत जफत हुनुले पार्टीको अवस्था गम्भीर रहेको उल्लेख माग पत्रमा उल्लेख गरिएको छ ।
केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीले मात्र समीक्षा गरेर निकास ननिस्कने भन्दै विशेष महाधिवेशन आवश्यक रहेको निवेदनमा उल्लेख छ । युवा नेताहरूले मुख्य रूपमा यो अभियान चलाइरहेका छन् ।

