चिना बनाउन हिड्ने यात्रा
कति छिटो छिटो भएछ
छ दिनको छैटी त झन
यति हतारमा बित्यो
नौ दिनको न्वारन सकिन
नौ सेकेन्ड लागेन
नौ इन्चको जन्म कुण्डली
बाको
बगली बाट नौ दिन सम्म
अग्लो भएर
अग्लो आसनमा सजियो
चिसो घामले गोरा हिउँलाई
पानी बनाए जसरी
एकछिनमा
हलुङ्गो धुवाँको मुस्लो आयो
र माथी पुग्यो
धुवाँको मुस्लो बाट प्वाल पारेर
हेरि रहे कतै देखिन
बोली रहे सुनेनौ
सजिएर अग्लो चितामा
उभिएको बेला
कसैले बोलायो भने पनि
सुन्ने ती कान छैनन्
हेरि रहला एक जोडी नजर
तर कतै देख्ने छैन
आसपासको अध्यारो स्वर्ग
तिमिले नदेखिने गरि हेर्नुपर्ने छ
म कतै देखिने छैन
आफ्नाहरु कहिल्यै आफ्ना हुने छैनन्
नजिक बसेर झन् भलाकुसारी गर्न
कदापि सकिने छैन
तिमी मलाई तस्वीरमा हेर्नु
जहिले जवान देख्ने छौं
तिमिलाई म कहिल्यै देख्दिन
किनकिरु
जवानीमा जीवन छोड्नेहरु
कहिल्यै बुढा हुदैनन्
कालो आगोले जल्दै रहे
कहिल्यै ननिभ्ने गरि
बलि रहे
त्यसैले हरबखत
जवान हुनेछु।।

