बालेन साहको चुनावी अभियानका क्रममा अछाममै अचेत भएपछि तत्काल सेनाको हेलिकोप्टर र स्काई भ्यानमा राखेर हिजै काठमाडौं ल्याइएका सञ्चारकर्मी (युट्युबर) दिनेश सिटौलाको अवस्था गम्भीर भएको छ । रास्वपाका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार साहसँगै उनी सुदूर पश्चिम र कर्णाली प्रदेशको यात्रामा थिए ।
हिजो अछाममा मुर्छित सिटौलाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरिएको २४ घण्टासम्म पनि होश आएको छैन । अस्पताल र पारिवारिक स्रोतका अनुसार नुवाकोटका ४४ वर्षे सिटौलाको अवस्था एकदमै गम्भीर छ ।
साह पनि यात्रा छोट्याएर काठमाडौं आएपछि आज दिउँसो ग्राण्डी अस्पताल पुगेका थिए । तर, अचेत बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरिएकाले उनको दिनेशका परिवारसङ्ग मात्र भेट हुन सक्यो । बिदेशबाट आइपुगेका दिनेशका भाइ उमेश सिटौलालाई भेटेर बालेन सोझै बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका थिए ।
स्वयम् दिनेशको अवस्था साह्रै जटिल रहेको भन्दै परिवारका सदस्यहरुलाई भोलि बिहान ७ बजेसम्म धैर्य गर्न बालेनले आग्रह गरेको बताइन्छ । दिनेश चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन् । तर,दाजुको गम्भीर स्वास्थ्य अवस्थालाई शंकास्पद ठान्दै भाइ उमेशले वास्तविकतासहितको जानकारी माग गरेका छन् ।
अछाममा एकाएक स्वास्थ्य अवस्था निकै खराब भएको जनाउँदै काठमाडौं ल्याइएका दिनेशको परिवारका सदस्यहरुले टाउको फुल्नेगरी ब्रेन ह्यामरेज भनिएता पनि त्यहाँ केही घटनाको आशंका गरेका छन् । अस्पताल स्रोतलाई उद्धृत गर्दै उनीहरुले बिरामीको शरीरमा अन्यत्र घाउचोट नदेखिए पनि पुरुष संवेदनशील अंग (अण्डकोष) मा चोटपटक लागेको र टाउको सुन्निएको ठम्याएका छन् ।
हिजो सिटौला अचेत भएपछि अछामबाटै सेनाको हेलिकोप्टर NA- 055 का लागि गृह मन्त्रालयमा सम्पर्क गरिएको थियो । अछामबाट सुर्खेतसम्म हेलिकोप्टर र त्यहाँबाट सेनाकै स्काइट्रक NA-069 मा राखेर ल्याइएका सिटौलाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । तर अवस्था झन् बिग्रँदै गएकाले परिवारका सदस्यहरु निकै हतोत्साही देखिन्छन् ।
बिरामीलाई भेन्टिलेटरमा राख्ने तर अस्पतालले वास्तविक जानकारी केही पनि नदिने कुराले आशंका जन्माएको चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी बताउँछन् ।
आफ्ना सहकर्मीको अवस्था बुझ्न हिजैदेखि उनी अस्पतालमा छन् तर सम्बध्द निकायहरुले भने दिउँसो ३ बजे,बेलुका,भोलि भन्दै वास्तविकता बताउन आनाकानी गरिरहेको अवस्था छ ।
जनआस्थाबाट

