आज कुसेऔँसी । यो औँसी ज्योतिष र अध्यात्म दुवै दृष्टिले विशेष महत्त्व राख्ने तिथि हो । यस दिन चन्द्रमा सूर्यको नजिक हुँदा अन्धकारमय देखिए पनि यसको आध्यात्मिक ऊर्जा गहन मानिन्छ । भाद्र कृष्ण औँसीलाई विशेषतः ‘कुसेऔँसी’ वा ‘पितृऔँसी’ भनिन्छ, जुन पितृ–तर्पण, श्राद्ध र पिताको सम्मानका लागि समर्पित छ ।
वैदिक परम्परामा पितृऋणलाई तीन ऋणमध्ये एक महत्त्वपूर्ण ऋण मानिन्छ (देवऋण, ऋषिऋण र पितृऋण) । यस ऋणबाट मुक्ति पाउनका लागि पितृहरूको सम्मान, तर्पण र श्राद्ध गर्नु अनिवार्य मानिन्छ । यस दिन कुश काटेर शुद्धीकरण गरिन्छ र वर्षभरि गरिने धार्मिक कार्यका लागि आवश्यक कुश संकलन गरिन्छ । नेपालका सन्दर्भमा यो दिन गोकर्णेश्वर महादेवको महिमादेखि रावणको जन्म साधना र वरदानसँग जोडिएको छ ।
काठमाडौँ उपत्यकामा अवस्थित गोकर्णेश्वर मन्दिर क्षेत्र, पौराणिक र धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । हिमवत्खण्डको ८५औँ अध्यायले यस क्षेत्रको महिमालाई अझ विस्तृत रूपमा व्याख्या गरेको छ । जहाँ गोकर्णेश्वरको महत्त्व, लंकाधिपति रावणको जन्म तथा उसको तपस्या र वरदानका रोचक प्रसङ्ग उल्लेख छन् ।
यस क्षेत्रको प्राचीनता र पवित्रतालाई लंकापति रावणको जीवनसँग जोडिएको कथाले अझ रोचक बनाएको छ । पौराणिक कथा अनुसार, महर्षि पुलस्त्यका नाति तथा महर्षि विश्रवाका पुत्र रावणको जन्म बागमती र मनोहराको सङ्गम नजिकै भएको मानिन्छ । बाल्यकालदेखि नै अत्यन्त बलवान् र तेजस्वी रावणले अजेय शक्ति प्राप्तिका लागि यही क्षेत्रमा घोर तपस्या गरेको वर्णन छ । रावणको जीवनको प्रारम्भिक र महत्त्वपूर्ण चरण यही पुण्यभूमिमा जोडिएको इतिहासले गोकर्णेश्वरको महिमालाई अझ उँचो बनाएको छ ।
गोकर्णेश्वर आउनु र पितृकार्य गर्नु अत्यन्तै उपयोगी हो तर सम्भव नहुनेहरूले पनि नुवाकोटको बेत्रावती र त्रिशूली, कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाट, रुरु क्षेत्रको रिडी, बराह लगायत क्षेत्रमा पनि पितृहरूको मोक्षका लागि श्राद्ध र तर्पण गर्ने परम्परा छ । अमावस्यामै पितृकार्य फलदायी हुनुमा मत्स्य पुराणमा उल्लेख भएको सन्दर्भ उल्लेखनीय छ ।
जसमा चन्द्रमाको १६ कला र अमृतपानको रोचक प्रसङ्ग छ । १६ कलामध्ये १५ कला देवगणहरूले विभिन्न तिथिमा अमृतका रूपमा पान गर्छन् । देवगणले चन्द्रमाको अमृत पान गरेपछि औँसीका दिन पितृले अमृतपान गर्छन् । जसले गर्दा उनीहरूलाई तृप्ति प्राप्त हुन्छ र पितृको आत्मालाई शान्ति मिल्छ । यही कारणले गर्दा औँसीतिथि पितृ कार्यका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस दिन गरिने श्राद्ध, तर्पण र दानले पितृलाई सीधा ऊर्जा प्रदान गर्ने र उनीहरूलाई मोक्ष प्राप्त गर्न सहयोग पुग्ने शास्त्रीय मान्यता छ ।
ज्योतिषशास्त्र अनुसार कुण्डलीमा सूर्य ग्रहलाई पिताको कारक मानिन्छ । सूर्य कमजोर छ वा पितृ दोष छ भने व्यक्तिको जीवनमा सङ्घर्ष र बाधा आउने विश्वास गरिन्छ । कुसेऔँसीमा पितृको सम्मान गर्दा र श्राद्ध कर्म गर्दा सूर्य बलियो हुने र पितृदोष निवारण हुने ज्योतिषीय मान्यता छ । यसैगरी वास्तुशास्त्र अनुसार घरको नैऋत्य कोण (दक्षिण–पश्चिम) पितृहरूको स्थान मानिन्छ । यस कोणलाई स्वच्छ र पवित्र राख्नाले घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ र पितृहरूको आशीष प्राप्त हुने विश्वास गरिन्छ । कुसेऔँसीका दिन पितृहरूको पूजा–आराधनाले घरको वास्तुदोष कम भई शुभ फल प्राप्त हुने मान्यता छ ।
घरको नैऋत्य कोण (दक्षिण–पश्चिम) पितृहरूको स्थान मानिन्छ । यस कोणलाई स्वच्छ र पवित्र राख्नाले घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ र पितृहरूको आशीष प्राप्त हुने विश्वास गरिन्छ ।
पछिल्लो समय कुसेऔँसीको वास्तविक मर्म कतै हराउँदै गइरहेको त छैन भन्ने प्रश्न टड्कारो रूपमा उठेको छ । सामाजिक सञ्जालको उदयसँगै ‘बुवाको मुख हेर्ने दिन’ले एउटा नयाँ रूप लिएको छ— ‘डिजिटल पितृभक्ति’ । यस दिन फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत प्लेटफर्ममा बाबुको तस्बिर र उनको प्रशंसामा लामा–लामा क्याप्सनका बाढी आउँछन् । कतिपयले जीवित पिताको तस्बिर राखेर आफूलाई ‘सर्वोत्कृष्ट सन्तान’ देखाउन खोज्छन् भने कतिपयले दिवङ्गत पिताको तस्बिर राखेर ‘पितृभक्तिको नाटक’ गर्छन् ।
विडम्बना यो छ कि सामाजिक सञ्जालमा ‘दुनियाँकै बेस्ट ड्याड’ लेख्ने धेरैले आफ्नो बाबुको जीवनकथाको कुनै अनुभव राखेका हुँदैनन् । पिताले उसलाई मानिस बनाउन, पढाउन र हुर्काउन गरेका हरेक त्याग, भोक, शोक र रोगको विषयमा उनीहरूलाई चासो हुने कुरै भएन । पिता एक्लै बस्दाको पीडा, उमेरले थला परेको शरीरको कष्ट, आर्थिक अभावका कारण परेको मानसिक तनावबारे उनीहरू बेखबर हुन्छन् ।
वर्षको ३६४ दिन बाबुको वास्ता नगर्ने, उहाँलाई एक्लो पार्ने, उहाँका स–साना आवश्यकतामा समेत ध्यान नदिने र कतिपय अवस्थामा त यतिसम्म कि बाबुको सम्पत्ति हडप्न बाबुलाई नै मुद्दा हाल्नेले पनि आज बिहानै ‘बुवाको मुख हेरेको’ भनेर मुस्कुराउँदै तस्बिर पोस्ट्याउँछन् । यो केवल एउटा डिजिटल ढोँग हो । पितृ सम्मानको अर्थ उहाँको सम्पत्ति हडप्नु होइन, बरु उहाँको शिक्षा, संस्कार र त्यागलाई आत्मसात् गर्दै असल मानिस बन्नु हो । यसो गर्न सकेमा मात्र कुसेऔँसीको महत्त्व जीवित रहन्छ र हाम्रो परम्पराले पनि सच्चा अर्थ प्राप्त गर्छ ।
(लेखक वास्तु विज्ञानका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।
रातोपाटीबाट

