मितेरी गास्दै चैत संग
माग्नु परला ओभानो वर्षा
चिसो पुस संग थोरै
घाम पठाइ दे भन्नुछ
अगेनालाई बिन्ती चढाउदै
भोकहरु औधी भोका बस्छन्
अलिकति भोक पठाइ देउ
सालिकको आशिर्वाद लिएर
पुसले घाम पठाउदैन
चैतले ओभानो पठाउदैन
ओभानो नपाएर
खिया बसेको अग्लो हँसिया
शासक जसरी झन अग्लो बन्छ
बग्गी सवारमा आएको
बुढो सालिक देखेर
तरुनो खिया पखालिन मान्दैन
माझी दाइका कलिला अस्थिपन्जर
ढुङ्गाको सवारमा
कलिलो गङ्गा तर्दातर्दै
अझ कलिला हुन्छन्
पुग्नुपर्ने हो कर्द भएर
खुकुरीको आगनमा
बिन्ती बिसाएर भन्नू छ
यो वर्ष नपठाउनु तरुनो खुकुरी
किनकि अचेल
अचानाहरु बग्गी सवारमा
आउन मान्दैनन्
खेल्नु ओभानी बनी
फुल्न आटेकी चैते बसन्ती संग
बसि हेरुला ओभानो घामले
पलाइ रहने
चैते बसन्त।।
-दीर्घ बहादुर शाही (डोक्काघरे)

