पाल्पाको बग्नासकाली गाउँपालिका–२ की गीता पाण्डेको मृत्यु भएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘खत्री नर्सिङ होम’का सञ्चालकसमेत रहेका डा. डीबी खत्री र ‘इन्दु लेखा स्वास्थ्य क्लिनिक’का चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले समातेको हो । घटनापछि प्रहरीले फोन गरेर बुझ्न बोलाएकोमा उनीहरू आफैँ ईलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए ।
कार्यालय आएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताएका छन् । मृतकका श्रीमान् प्रकाश पाण्डेले डा. खत्री र रुपाखेतीसहित पाँचजनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
त्यसैका आधारमा जोनल फार्मेसी तथा क्लिनिकका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती, इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई प्रहरीले हिजै पक्राउ गरेको थियो । जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई उनीहरूउपर अनुसन्धान अगाडि बढाइएको र अरुको पनि संलग्नता देखिए कारबाहीको दायरामा ल्याइने डिएसपी श्रीवास्तवले जनाए ।
यता, मृतकका परिवारजन र आफन्तले भने उपचारसम्बन्धी कागजातसमेत फार्मेसीले लुकाएको दाबी गर्दै प्रमाण नष्ट हुनसक्ने आशङ्का गरेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उनीहरुको स्पष्ट माग छ । पीडित पक्षले हिजो क्लिनिक घेराउ गरी तालाबन्दीसमेत गरेको थियो ।
मृतकका पति पाण्डेका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ५ गते गीतालाई उपचारका लागि बुटवल लगिएको थियो । शुरुमा खत्री नर्सिङ होम पुर्याएको र त्यहाँ स्वास्थ्यकर्मीले औषधि प्रयोगगरी गर्भपतन गराउने असफल प्रयास भएपछि बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक लगिएको थियो ।
त्यहाँ पनि औषधि प्रयोग गरेर उपचार गरिए पनि स्वास्थ्य अवस्था झनै गम्भीर बनेपछि लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो । तर, अस्पतालले मृत घोषणा गरेको परिवारले जनाएको छ ।

