Breaking News

बा कतै देख्दिन

दुई जोर पैतालाहरु संगै गएका हुन
चाक्लो आकाशमा कयौं पाथी उज्यालो खोज्न
पीडाको गरुङ्गो डोको बोकेर फर्के
रित्तो मन एक्लो हिडाइ
कल्पनाको खाली पोल्ठो
हवाइजहाजको यात्रा
तर पनि
हवाइजहाज भन्दा सरासर
कतै नरोकी दौडिरहेको रहर
गाउँको सिमानामा पुग्दा
बाबाका साथहरु छैनन्
भरोसा पनि भेटिदैनन्
आसहरु देखिदैनन्
गर्भिलो माया त झन् पाइदै पाइदैन
केवल शन्यू देख्छु आगन
रित्तो लाग्छ बाको बस्ने आसन्दी
एक्लै छ कुप्राकुप्री सुत्ने पलङ्ग
मलिन छन घरका सदस्य
कोहि बोल्दैनन्
मात्र
आँसुहरु बोल्छन्
जम्काभेटमा
खेतका आलिहरु भेटिन्छन्
बाटोमा बुढो चौतारो पनि भेटिन्छ
गोठालो जादा लुकामारी गर्ने चौरहरु भेटिन्छन्
मेलापात भेटिन्छन्
चाडपर्व भेटिन्छन्
उकाली ओराली भेटिन्छन्
खै
बा कतै भेटिन्न
तल्ला घरे हजुर बा देखिए
माथिल्ला घरे बडाबा भेटिए
बतासे डाडाका कान्छा बा पनि यतैतिर छन
जताततै हेर्छु
खै
बा कतै देख्दिन
थोरै पर पुगे भने
बैसागी टेकेर डुल्ने पल्ला गाउँका चमार दाइ भेटाउछु
सेता साडिमा बसेकी आमाहरू पनि भेटाउछु
अकालमा बा(आमा गुमाएका
नानिबाबुहरु भेटाउछु
खैत
बा तिमिलाई देख्दिन
साझ परेपछि भट्टिका मसिना आवाज सुन्छु
तल्ला घरे हजुरबाको
पारी घरका कान्छा बाको
माथिल्ला घरे बडा दाजुको
आवाज जहिले सुन्छु
बा तिमिले बोलाएको कहिल्यै सुन्दैन
भन त बा
तिमी अचेल कहाँ बस्छौ !!!

दीर्घ बहादुर शाही (डोक्काघरे)