Breaking News

शरणार्थी !!

( विश्व शरणार्थी दिवस, जुन २०) को अवसरमा ।

लम्किनु छ नयाँ गन्तव्य,
धर्ती माथी पाइला राखी,
बचाउनु छ जिवनचक्र,
छानो देख्छु खुला आकाश
आफ्नै शिर माथी !!
अदम्य साहसले मुटु दरो पारी,
लम्किनु छ नौलो परीवेश,
बटुल्नुछ बाँच्ने साथ र  सारथि,
हिंडेर कहिले नथाक्ने,
शुन्यतामा अर्थ खोज्न आँट राख्ने
म हुँ शरणार्थी ।।

सन्तानका थकाइले चर्किन्छ मेरो छाती,
आफुलाई बिजेको काँडाले
पोल्दैन बरु तेति भाँती,
प्रकृतिको प्रेमले भर्नुछ रित्तो पेट,
आफ्नैबाट लखेटिएर पनि,
कहिले विचलित नहुने म हुँ शरणार्थी ।।

पिर व्यथा अभावका हुरी सबै मेरा साथी,
जुन र तारा बसेका छन
बनेर सहारा अनि साक्षी ,
धैर्यताको ताज पहिरी छोड्नुछ
आफ्नो परीवेश,
नव गन्तव्यमा पुग्न
आउने वाधा सबैमा  मेरो छ
सन्तोष,
अमुल्य धारा पसिनाको बगाउन म
तयार छु,
तर नगरोस् शत्रु आइ मेरो
मातृभुमि र अस्तित्वको
अट्टहास ।।

त्यसैले भर्छु म देहमा,
मातृस्नेहको उमंग,
पोत्छु म मुहारमा मातृप्रेमको
रंग,
भर्छु म कानमा मातृ सुरम्यताको
संगित,
पहिरन्छु म शिरमा,
जननी र जन्मभुमिको
आशिर्वादको ताज,
र त मेरो पाइला दरो छन,
अभावको उचाइ अनि अनिकालको
गहिराइले मलाई छुन सक्दैन,
अपमानको वाण अनि
तिरस्कारको ज्वालाले
निल्न सक्दैनन,
म आफ्नैबाट लखेटिएर
पनि संसार जित्न खोज्ने,
बलवान् सिपाही,
सृष्टिको वस्तविक लडाकु,
आफ्नै आत्माको ईश्वरको
सैनिक,
संघर्षको साक्षात मुर्ति ।।
धर्तिको माटोलाई सिरानी
अनि चन्द्रमाको आकारलाई
सपना सजाउन सक्ने
नहार्ने नथाक्ने,
अनि जन्म जन्म मुटु भित्र
आफ्नो मातृभुमिको ताज
सजाएर,
शुन्यतामा जीवन सृजना गर्ने
साहस राख्ने,
शरणार्थी ।।।

सुशिला शर्मा “शिलु”