Breaking News

न्यायालयको आकाशमा मडारीएको कालो बादल !!

एउटा निरीह,
गरीब,
आफ्नै दाजुभाइबाट
अंशियारको हक छिनिएको
पीडा लिएर न्यायको आसमा
न्यायालय पुग्दछ !!

उस्को गेटबाटनै युद्ध शुरु हुन्छ,
के गर्ने, कस्लाई भेट्ने कहाँ जाने
थाहा नभएपछी,
बल्ल तल्ल भित्र छिरे पछि थाहा हुन्छ
एउटै मात्र शब्द पाउन चुकाउनु
पर्ने मूल्य,
अनि रित्तो मन र खाली पकेटसँग
अनेक प्रश्न सोध्न पुग्दछ,
पटक पटक झस्किन्छ
र सोध्छ आफैंलाई,
यो वधशाला हो,
रणमैदान  या
अन्य केही ?
जहाँ हरदम एउटा निरीह
प्राणी आँसु लिएर
बिदा हुन्छ,
जहाँ सत्ता र शक्तिको आडमा
राष्ट्र सेवक नामका वर्दीधारीहरु
दिन दहाडै आँखा जुधाएको
ज्याला माग्दछन!!
लाग्छ उनिहरुको
बोलिको मूल्य तिर्नुपर्छ,
उनिहरुको हाँसो प्राप्त गर्न
पकेट रित्ताउनु पर्छ,
उनिहरुबाट सेवा लिन त झनै
जादुको नोट छपाउनु पर्छ,
जुन,
दुई ओठबाट शब्द झर्नासाथ
टुप्लुक्क हातमा थमाइदिन
पर्छ !!

केही नपाइने छाँट पाए भने त्यहाँ
कोहि बोल्दैनन,
लाग्छ यो पशुहरुको
गोठ हो,
जहाँ घाँस दिदा बाँ बाँ को आवाज आउँछ
नत्र खाली मौनता !!

लाग्छ यो मुटुको शल्यक्रिया गर्ने
अपरेसन थेटर हो,
जहाँ बिल भरेको रिपोर्ट पाएपछी
मात्र सेतो कोट धारीले बिरामिको
आफन्त तर्फ हेर्छ !!

लाग्छ यो बधशाला हो,
जहाँ कुन ठाउँको
माँश मीठो भन्दै
काटिदै बेचिन्छ,
लाग्छ यो यमलोकको
यात्रा हो जहाँ
दिन दहाडै
खुलेआम
मृत्युलोक तर्फ जान आटेको
पिडित र सत्ताको आडले फुलेको
यमदुतले गाली वर्साउदै तर्साउँछ ।।

लाग्छ,
यो क्रिडा स्थल हो,
भोकले आक्रान्त जीव र
निरीह उस्को आहाराको
वस्तु या अर्को जिव स्वयं
मुखमै आएर पस्न आटेको छ ।।

लाग्छ, यो महाभारतको
कौरव लोक हो,
जहाँ पाण्डवहरुको निमित्त
हर बखत जघन्य र घोर
अन्यायको निमित्त
शकुनि पासा खेलिन्छ,
यत्र तत्र सर्वत्र,
न्यायालयको आवरण भित्र
लाजमर्दो हर्कत बेहोरिन्छ ।।

निलो आकाश मुनिको
न्यायालयमा
किन हरदम कालो बादल
मडारिन्छ ।।

सुशिला शर्मा “शिलु”