अहिले सर्वसाधारणको व्यापक गुनासो सुनिन्छ,‘भाटभटेनी, बिगमार्टलगायतका सुपरमार्केटले कमशल सामान बेचिरहेको छ ।’ सुपरमार्केटहरुले कुहिएको, सडेगलेको सामान नयाँ म्याद टाँसेर बेचिरहेको सर्वसाधारणको आरोप छ । घर लगेको सामान कुहिएको पाइएपछि साटिनुभन्दा पनि नसाटिदिएको उनीहरुको भनाइ छ । सामानमा आफूखुशी रेट राखेर बेचिरहेको अवस्था छ । ‘सेभ’ भन्दै लुट मच्चाइरहेका छन् । सुपरमार्केटहरुमा सामानको मूल्य मनलाग्दी पाइन्छ । यता, तौलमा पनि गडबडी छ । सबै सामान प्याक गरेर राखिएको हुन्छ । प्याकेटमा एक केजी लेखिएको भएपनि त्यति हुँदैन् । दशैंको मौकामा बम्पर अफर भनेर लुटिरहेका छन् ।
एकातिर मँहगोमा सामान बेचिरहेका छन् अनि दशैंको छुट भनेर सर्वसाधारणको आँखामा छारो हालिरहेका छन् । सुपरमार्केटमा पनि डुब्लिकेट सामान पाइने सर्वसाधारणको भनाइ छ । पानीका जारहरु पुरानो, खान योग्य नभएको खाद्यान्न, बढी मूल्यमा सामान बेच्दा पनि सरकारले अनुगमन गर्दैन् । सरकार सुपरमार्केट सञ्चालकको अगाडि निरीह देखिएको छ । साना पसलमा छापा मारिरहँदा सुपरमार्केटमा जान नियामक निकायका अधिकारीहरुको दाँतबाट किन पसिना आयो ? पछिल्लो समय सुपरमार्केटमा गएर सपिङ्ग गर्नेको धाकै बढी छ । म त सुपरमार्केटबाट सामान ल्याउँछु, ससाना पसलमा किन्दिन भनेर घमण्ड देखाउन थालिएको छ ।
तर, आफूलाई कसरी ठगिएको छ ? जानकारी छैन् । आफ्नो घर छेउछाउको साना पसलमा जान लाज लाग्ने अवस्था आएको छ । जति नै टाढा भएपनि देखाउनकै लागि सुपरमार्केटसम्म गइन्छ । सुपरमार्केटमा मात्र होइन्, खुद्रा पसलेहरुले पनि कुहिएका सामान बेचिरहेका छन् ।
तेल, पेय पदार्थ, खाद्यान्नहरुको मनलाग्दी मूल्य छ । एउटै सामानको पसलपिच्छे फरक मूल्य छ । उता, तिनले बेचिरहेको सामान खान योग्य छ कि छैन् ? सरकार अनुगमन गर्दैन् । दशैं लागेको छ । मँहगीले आकाश छोएको छ । सर्वसाधारणलाई खान धौं धौं छ । व्यवसायीले खाद्यान्नको मूल्य बढाएको बढायै छ । बढ्दो मूल्यले जनताको ढाड सेकिएको छ । तर, देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई चासो छैन् । उनी जनताप्रति अलिकति पनि जवाफदेही छैन् । जनता मँहगी, बाढी पहिरोको पीडा छन्, प्रधानमन्त्री करोडौंका घडी लगाउनमै व्यस्त छन् । जो दलाल छ, उसले दलाललाई बचाउने नै भयो ।
अहिले एमाले र काँग्रेस गठबन्धनको सरकार छ । मुलुकको दुईटा ठूल्ठूला पार्टी मिलेर देशमा यो–त्यो गर्छौं भन्थे, तर केही नि उखालेनन् । जनता यी दलबाट वाक्कदिक्क भइसकेका छन् । अब त ओलीलाई नै लखेट्नुपर्ने आवाज उठ्न थालिसकेको छ । देशमा तीन तहको सरकार छ । स्थानीय तहमा जनताले चुनेर पठाएको जनप्रतिनिधि छन् । सांसद् छन् । मन्त्री छन् । तर, कसैले केही उखालेका होइनन् । बेकारमा जनताले पाल्नु मात्र परेको छ । जनतालाई जनप्रतिनिधि बोझ बनेका छन् । अर्कोतिर सरकारी कर्मचारीलाई पनि यत्रो तलब दिएर पाल्नुपरेको छ । तर, उपलब्धि के त ? ‘दिन कटाउने र माना पचाउने’ मात्रै ? सरकारले तलब दिएको छ । दशैंमा पेस्की दिन्छ । त्यतिले पनि उनीहरुलाई पुगेको छैन् । व्यापारीको घरमा हात फैलाउन पुगिहाल्छन् । अनि यस्ता जनप्रतिनिधि र कर्मचारीले बजार अनुगमन गर्छन् ? जनताको हकहितका लागि काम गर्लान् ?
जनताले यस्ता जनप्रतिनिधि र कर्मचारीबाट केही अपेक्षा नगरेकै बेस । बजारमा व्यापारीहरुकै रजगज छ । औषधी पसलेले म्याद सकिएको सामान बेचिरहेका छन् । मिठाइ पसल, डेरी, माछामासु पसलले जनताको स्वास्थ्यलाई हानिनोक्सानी हुने सामान बेचिरहेको छ । कहिले–कहिलेदेखिको सामान बेचिन्छ । यी पसलहरुले न्यूनतम मापदण्ड पनि पालना गरेका छैनन् । मिठाइ पसल अति नै फोहोर हुन्छ । पसल पनि फोहोर, मिठाइ बनाउने पनि फोहोरी । हेर्दै घिन लागेर आउँछ । तर, के गर्ने ? सरकारले अनुगमन नगरेपछि त्यस्तै सामान प्रयोग गर्न बाध्य छन् उपभोक्ता । अर्कोतिर माछामासु पसल । कुहिसकेको माछा बेच्न राखिन्छ । खसीको मासु भनेर बाख्राको मासु बेच्न राखिन्छ । जिँउदै कुखुरा काटेर भनेर मरेको कुखुरा बेचिन्छ । माछामासु पसलहरु उत्तिकै फोहोर हुन्छ । फोहोर पानीले माछामासु पखाल्छन् । उपभोक्ताको स्वास्थ्यमा गम्भीर हानि पुगेको छ । मदिराहरु पनि त्यस्तै छ । घरमा बनाउने रक्सीहरु खान नहुने सामानको प्रयोग गरेको बनाइएको हुन्छ ।
रासायनिक मल, राँगाको हड्डीलगायतका सामान प्रयोग गरेर रक्सी बनाइएको छ । एकातिर पैसा पनि सकियो, अर्कोतिर ज्यान । सिलप्याक रक्सीहरु पनि बजारमा डुब्लिकेट आउन थालेको छ । डेरीवालहरुले शुद्द घिऊँ भनेर डल्ला घिऊँ मिसाएर बेचिरहेका छन् । दही, दूध पानी हालेर बेचिन्छ ।
प्याकेटमा आउने दुनोट, केक, पपहरु म्याद सकिएपछि अर्को म्याद राखेर बेचिन्छ । बिस्कुटहरु पनि म्याद सकिएको भेटिन्छ । विडम्बना, सरकार देख्दैन् । देशमा अशिक्षित जनता पनि छन् । उनीहरुले अक्षर चिन्दैनन् । पसलेले जस्तो दियो, त्यस्तै बोकेर हिँड्छन् । सामान खान योग्य छ कि छैन् ? बिचराले के जानुन् । जसको फाइदा व्यापारीहरुले उठाइरहेका छन् । सामानको प्याकेटमा अनिवार्य मिति राखिनुपर्छ । सामान जोखेर दिनुपर्छ । तर, व्यापारीहरु बाठा भएका छन् । सामान प्याकेटमा प्याक गर्छन्, कम तौल राखेर । अनि बेच्छन् । कसले त्यो सामान लगेर जोख्ने ? खुल्ला सामान ल्याउने अनि पसलमा बसेर प्याक गर्ने ।
पसलभित्रै धुम्रपान गरेर सामान बेचिएको प्रशस्तै देखिन्छ । उनीहरुलाई कसले कारबाही गर्ने ? मासु पसलेहरु चुरोट तान्दै मासु काटिरहेका हुन्छन् । डेरीवालहरु मुखमा खैनी हालेर सामान बेच्छन् । उसले आफू त खायो, तर त्यसले अरुलाई असर पार्न मिलेन् नि । सरकारी कर्मचारी र जनप्रतिनिधिलाई बेलुका खाएको रक्सीले कार्यालय जाँदासम्म छोडेको हुँदैन् । अनि यस्ता कर्मचारीले अनुगमन गर्छन् ? कारबाही गर्छन् ? सरकारी कर्मचारीहरु पैसाका लागि जे पनि गर्छन् । कसैले गलत काम गरेको छ भने पैसा लिएर छोडिदिन्छन् । त्योबाट देश र जनतालाई कति फाइदा हुन्छ, उनीहरुलाई मतलब छैन् । दशैं सबैको चाड हो । सँधै नमिठो, रुखोसुखो खाएपनि चाडबाडमा राम्रो खाऊँ, राम्रो लाऊँ भन्ने सबैलाई हुन्छ । यही मौका छोपेर व्यापारीले ठग्छन् । देशमा तीन वटा यस्ता व्यक्ति छन्, जो आफू कहिले मर्दैनौं भनेर सोच्छन् । जनता ठग्न, राजश्व छली गर्न, घुस खान उनीहरुले कहिले छोड्दैनन् । ती व्यक्ति हुन्, नेता, सरकारी कर्मचारी र व्यापारी । वालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरी हिरासतमा पुगिसकेकासँग के इज्जत हुन्छ ?
जग्गा हिनामिनामा कानुनबाट डामिसकेकालाई जनता लुट्न के ठूलो कुरा भयो र ? विडम्बना, देशमा त्यस्त दलालकै रजगज चलेको छ । प्रधानमन्त्रीसँग फोटो खिचाउने उनीहरु नै हुन् । राज्य पनि उनीहरुले राजश्व छलेको देख्दैन् । अब जनताको चेत खुल्न जरुरी छ ।
मासुभातमा बिक्दा आज देश सकियो । बाटोमा नाङ्लो पसल थापेर बसेकाबाट सामान किन्न हामीलाई लाज लाग्छ । बरु ठग्नेकोमा जाँदा हामी मख्ख पर्छौं । कहाँ गएर सामान किनेको ? सुपरमार्केटमा । हाम्रो नाकै ठूलो । साना पसलेबाट सामान किनिदिँदा उनीहरुको घर चल्छ । छोराछोरी पढाउन सक्छौं । विडम्बना, त्यो सोच हामीमा छैन् । भनिन्छ नि,‘नबिराउनु, नडराउनु ।’ हाम्रा देशका नेताहरु खुलेआम हिँड्न सक्दैनन् । व्यापारीहरु खुलेआम आफ्नै उपभोक्ताबीच जान सक्दैनन् । किन कि उनीहरुलाई डर छ । आफूले के गरेका छौं ? कति लुटेका
छौं ? भन्ने त तिनलाई थाहा छ ।