Breaking News

शिक्षकहरुले हात उठाएर सरकारको सांकेतिक विरोध

२७ चैत, काठमाडौं। शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले आज बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।

‘शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर प्रदर्शन गरेका हौँ,’ आन्दोलनमा सहभागी हेटौंडाबाट आएका शिक्षक पूर्ण ब्लोनले भने, ‘ एक साता हुँदा पनि हाम्रो मागहरू सम्बोधन भएको छैन। त्यसकारण हामीले आज हात उठाएर दबाब दिन खोजेका हौं।’

मंगलबार(हिजो) दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।

सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।