कविता :
हजुरआमा सँगको
सम्झनाका कोसेली !!
म हजुरको प्यारी नातिनी,
हजुरको काखमा बसेको त्यो श्याम श्वेत
तस्वीर समेत भुकम्पले छोपेको थाहा पाएँ,
निकै पछि मेरो प्रिय गाउँ पुग्दा,
फुटेको, टुटेको सिसा भनि नजिकैको
खहरेमा मिल्काएको थाहा पाएँ,
दौडिरह्यो मेरो मन खहरेको पानी सङै,
निकै बेरमा हात चिसो भयो भिजेको रहेछ
परेली पानीले, धुमिल भयो आँखा
समय सँगै !!
ऐना हेर्छु, दुई चार कपाल फुल्न पो थाली सकेका
रहेछन,
मलाई केही नौलो लागेन म हजुरको सेतो कपाल
मुसासेर हुर्केको भएर,
उमेरले डाँडो काट्यो कस्ता होलान मेरा नानि
भन्दै त्यो मातृ वात्सल्य पुर्ण हाँसो सम्झन्छु,
हाम्रा लागि लुकाएको हजुरको आँसु आज
बल्ल मनन गर्दैछु, म ठुली भएर ।।
पानीको लोटा, ढिकी, जाँतो कैले भारी भयो
भन्नू भएन है,
हामिलाई फरीयाको फेर सहारा दिई सारा सुख
र लय सुनाई आफ्नो दु:ख भुलाउने कोसिस गर्नु भएको
रहेछ,
आज मेरो जन्म भुमिमा हजुरले छोएका
कुनै चिनारी बाँकी मात्र देख्न पाए ।।
जति भौतिक सुख आउदै गयो उति हजुरको
याद गाढा हुँदैछ प्यारी हजूरआमा,
टेकेको धर्ती यो यान्तृक युगले तातेको बेला समेत
चिसो लाग्दैछ,
कतै हजुरले लुकेर पुछेका आँसु र हाम्रा निमित्त
दिएका आशिषको वर्षातले मेरो मन निथ्रुक्क
भिजेर त होइनन !!!
स्वर्ग र नर्कको कुरा सुनाइ रहँदा एउटा
मुख्य कुरा भन्न छुटाउनु भएछ आमा,
हजुरको आँचलको सुगन्ध छुटेको दिन बाट
कतै मेरा जिवनका गोरेटो कहाली लाग्दो हुने
छन भनेर पहिले जानी जानी त्यो बाटोको
कठिन यात्रा भुलाउन खोज्नु भएछ, ताकी
डर लाग्दो जीवन संघर्षले मेरो बाल्यकाल
न धमिलियोस भनेर ।।
पढ राम्रो गर भनी रहनु भयो,
मेरा साना आँखाका नानिमा चम्किलो
सपना भरीदिनु भयो,
मेरो सानो अञ्जुलीमा मीठो यादका
कोसेलिहरु भरीदिनु भयो,
तर,
मेरा औंलाले जिवनकै कथा लेखी
रहँदा स्मृतिको पन्नामा अदृश्य हावा बनेर
बिलाउनु भयो।।
सापकोटा” को यादमा ।।