लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको
छ । बैंक र अपर सेती हाइड्रोबीच सो कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्णमा लगानी गर्ने सम्झौता भएको हो ।

कम्पनीका अनुसार सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवर्द्धकको रुपमा नेपालको प्रतिठित व्यापारिक घराना के.सी. ग्रुप रहेको छ ।

सो परियोजना निमार्णको लागि बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ । बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ ।