१३ असोज, हान्झाउ । नेपालका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेण्ड मा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए ।
यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०.३ सेकेण्डको ह्याण्ड कीर्तिमान बनाएका थिए । तर इलेक्ट्रिक टाइमिङ नभएकाले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।
एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले एसियाडमा राष्ट्रिय कीर्तिमान बन्नु पदक जितेसरह भएको प्रतिक्रिया दिए । ‘यो एकदमै ठूलो उपलब्धी हो सबैको मिहिनेतले सफल भयौ, एकदमै खुशी छौं’, उनले भने ।
खेलाडी दीपक अधिकारीले आफ्नो मिहिनेतअनुसारको नतिजा आएको बताए । ‘एकदमै खुशी लागेको छ, मिहिनेत अनुसार रिजल्ट आयाे । नियमित प्रशिक्षण भए अझ राम्राे गर्न सकिन्छ’ उनले भने ।