Breaking News

स्पेनलाई च्याम्पियन बनाउन निर्णायक गोल गरेकी कार्मोनाले जब बुबाको निधनको खबर पाइन्

फिफा महिला विश्वकपको उपाधि जित्ने क्रममा स्पेनले आइतबार इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्‍यो। स्पेनलाई पहिलो पटक च्याम्पियन बनाउने क्रममा कप्तान ओल्गा कार्मोनाले निर्णायक गोल गरिन्।

सिड्नीमा भएको फाइनल खेलको जब अन्तिम सिठ्ठी बज्यो, स्पेनिस टिमका खेलाडी खुसीले मैदानमा उफ्रिए, भावुक भए अनि एकअर्कालाई आँगालोमा बाँधे।

स्पेनलाई च्याम्पियन बनाएकी कप्तान कार्मोनाले भने खुलेर खुसी मनाउन सकिनन्। किनभने खेलपछि उनलाई उनको बुबाको निधन भएको खबर सुनाइयो।

स्पेनिस क्लब रियल म्याड्रिडकी लेफ्ट-ब्याकका बुबा लामो समयदेखि बिरामी थिए। कार्मोनाको बुबाको फाइनल हुनु दुई दिनअघि शुक्रबार निधन भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

‘मलाई थाहा छ, तपाईंले आज राति मलाई हेरिरहनुभएको छ र तपाईं मप्रति गर्व गरिरहनु भएको छ। रेस्ट इन पिस ड्याड,’ कार्मोनाले फाइनलपछि सामाजिक सञ्जालमा लेखिन्।

कार्मोनाले आफ्नो पोस्टमा विश्वकपको मेडललाई चुम्बन गरेको तस्विर राखेकी छन्।