Breaking News

माओवादीमा प्रचण्डपछिको नेतृत्व को ?

एकताबद्ध हुँदा नेकपा माओवादी केन्द्रमा मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराई मध्ये एकलाई प्रचण्डपछिको नेतृत्व मानिएको थियो । तर, किरण र बाबुराम संसदीय यात्राका क्रममा छुटिए । अब, माओवादीमा जनयुद्ध धारका तेस्रो तहका नेतृत्व नै प्रचण्डका उत्तराधिकारी बन्ने होडमा छन् ।

पोस्टबहादुर बोगटीको निधन भयो । रामबहादुर थापा ‘बादल’ एमालेतिर लागे । कृष्णबहादुर महारा नैतिक पतनमा फसे । अर्को धारबाट आएर हाल वरिष्ठ उपाध्यक्ष हैसियतमा रहेका नारायणकाजी श्रेष्ठलाई माओवादीमा प्रचण्ड पछिको नेतृत्वको रूपमा स्वीकार गर्ने परिस्थिति छैन । वस्तुगत अवस्था हेर्दा माओवादीमा प्रचण्डपछिको नेतृत्व को ? भन्ने जटिल प्रश्न छ ।

लामो समयको सशस्त्र संघर्षबाट संसदीय राजनीतिमा आएको माओवादीले अझै पनि नेतृत्व चयन र निर्माणका सन्दर्भमा लय समातिसकेको छैन । मूल नेतृत्वले चाहेकै आधारमा अन्य नेतृत्व चयन हुँदै आएका छन् । लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने परम्परा अँगाल्न सकेको छैन । यस्तो अवस्थामा भावी नेतृत्वको रूपमा कुनै पनि नेताले आफूलाई उभ्याउन सक्दैनन् । त्यसैले प्रचण्डपछिको नेतृत्वको सन्दर्भमा माओवादीमा स्पष्ट चित्र नदेखिएको हो ।

पार्टीभित्र भावी नेतृत्वको चित्र स्पष्ट नहुँदा तीन दशकभन्दा लामो समयदेखि पार्टीलाई नेतृत्व गर्दै आएका प्रचण्ड नै निर्विकल्प नेतृत्वको रूपमा देखिएका छन् । काठमाडौँमा पाँच दिनसम्म चलेको माओवादी केन्द्रीय समितिको पूर्ण बैठकले पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा चिन्ता व्यक्त गर्न सकेन । र, प्रचण्ड थप शक्ति लिएर निर्विकल्प नेतृत्वको रूपमा अघि बढेका छन् ।

देव गुरुङ महासचिव जिम्मेवारीमा छन् । कम्युनिष्ट पार्टीको महासचिव जस्तो महत्त्वपूर्ण जिम्मेवारी र अवसर पाएपनि उनले भावी नेतृत्वको रूपमा आफूलाई स्थापित गर्न सकेका छैनन् । शक्ति बस्नेत र पम्फा भुसालहरू पनि भावी नेतृत्वको सूचीमा पर्न सक्दैनन् । बाँकी रहेका उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ हुन् । तर, अनन्त र प्रभाकरले पनि आफूलाई बलियो रूपमा भावी नेतृत्वका लागि तयार पार्न सकेका छैनन् ।

अनन्तले लामो समयदेखि अध्यक्ष प्रचण्डकै छत्रछायाँमा रहेर पार्टीभित्र लाइन चलाउँदै आएका छन् । प्रभाकरले चाहिँ अध्यक्षको लाइन छोडेर समानान्तर गतिविधि गरिरहेका छन् । यी दुवै नेता कुनै समय अध्यक्षका अति निकट थिए । भर्खरै सम्पन्न केन्द्री समिति बैठकमा पनि उनीहरूले नेतृत्व रक्षाको सन्दर्भमा आजसम्म मूल खम्बा भएरै उभिएको धारणा राखेका थिए । तर, पछिल्लो समय यी दुवै प्रचण्डको रुचिमा पर्दैनन् ।

केही समय अगाडि कीर्तिपुरमा माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारले कार्यक्रम गरेको थियो । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रचण्डले ‘रैथाने साथीहरूको साथ मिलेन’ भन्दै घुमाउरो भाषामा अनन्त र जनार्दनले साथ नदिएको गुनासो गरे । प्रचण्डको उक्त गुनासोले माओवादीमा तरंग लियो ।

प्रचण्डले बारम्बार सबै माओवादीलाई एकताबद्ध गर्ने घोषणा गर्दै आएका छन् । माओवादीका हरेक बैठक, भेला तथा सम्मेलनहरूले पनि माओवादी एकताकै सन्देश लिने गरेको छ । सोही नीति अनुरूप प्रचण्डले अति नजिकबाट विप्लव नेतृत्वको नेकपासँग छलफल गर्दै आएका छन् । प्रचण्ड–विप्लव संवाद निर्णायक चरणमा पुगेको छ । संवादले सार्थकता पाउँदा विप्लव माओवादीका महासचिव बन्न सक्छन् ।

प्रचण्डले अन्तिम अवस्थामा अनन्त र जनार्दनलाई बाइपास गर्दै देव गुरुङलाई महासचिव बनाए । त्यो घटनापछि नै भावी नेतृत्वको सन्दर्भमा अनन्त र जनार्दनले प्रचण्डको चाहना बुझिसकेका छन् । अर्थात्, ‘अब हामी प्रचण्डको रोजाइमा पर्दैनौँ’ भन्ने उनीहरूको साझा बुझाइ र निष्कर्ष हो । अनन्त र प्रभाकरको लडाइँका कारण देव गुरुङ भित्रिएका थिए । उनीहरूको लडाइँ जारी रहँदा अब विप्लव भित्रने सम्भावना बलियो छ ।

प्रचण्डको घेराबाट बाहिरिएसँगै अनन्तले केन्द्रीय कमिटी बैठकको पूर्व सन्ध्यामा विशेष महाधिवेशनले नेतृत्व टुंगो लगाउने प्रतिक्रिया दिए । अर्थात्, नेतृत्वका रूपमा प्रचण्डको निरन्तरतामा प्रश्न उठाएका थिए । माओवादीमा विशेष महाधिवेशन औपचारिक प्रस्ताव नबनिसकेको बेला अनन्तले दिएको उक्त प्रतिक्रियाले माओवादीमा अर्को तरंग पैदा ग¥यो । सम्पन्न केन्द्रीय कमिटी बैठकले पनि विशेष महाधिवेशनको लाइन लिएको छ । तर, विशेष महाधिवेशन सम्पन्न होला भन्नेमा आशंका गर्ने ठाउँ छन् ।

माओवादीले वर्ष अघि केन्द्रीय सम्मेलन आयोजना गरेको थियो । तर, सोही सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण ग¥यो । र, छिट्टै विधान महाधिवेशन गर्ने म्यान्डेट लियो । अब भने विधान महाधिवेशनसँगै विशेष महाधिवेशन हुने छ । र, अनन्तले भने झैँ सोही महाधिवेशनले भावी नेतृत्वका लागि स्पष्ट चित्र बनाउने माओवादीजनमा आशा छ । तर, अहिले नै मूल नेतृत्व परिवर्तन हुने चाहिँ कुनै गुन्जाइस छैन ।

तीन दशकभन्दा लामो समयदेखि माओवादीलाई निरन्तर नेतृत्व गर्दै आएका प्रचण्ड हाल ६८ वर्षका भए । विशेष महाधिवेशन हुने समयसम्ममा ७० वर्षका हुनेछन् । विशेष महाधिवेशन भएको खण्डमा सात दशकको उमेरमा पनि प्रचण्डले नै पार्टीलाई नेतृत्व गर्नेछन् । त्यसपछि पनि पाँच वर्ष पार्टीको निर्विकल्प नेतृत्व रहने छन् । यसरी हेर्दा अबको झन्डै एक दशक माओवादीमा प्रचण्डको विकल्प देखिन्न !

प्रचण्ड अन्तद्र्वन्द्वहरूमा खेल्न माहिर नेतृत्व हुन् । विगतमा किरण र बाबुरामको अन्तद्र्वन्द्वमा खेलेका प्रचण्ड पछिल्लो चरण नेकपा रहेको बेला केपी शर्मा ओली र माधवकुमार नेपालको अन्तद्र्वन्द्वमा खेले र अहिले अनन्त र प्रभाकरको अन्तद्र्वन्द्वमा खेलिरहेका छन् । यी तिनै अन्तद्र्वन्द्वमा खेलेर प्रचण्ड आफू शक्तिशाली भएका छन् । र, निर्विकल्प नेतृत्वका रूपमा आफूलाई उभ्याउँदै आएका छन् ।

समकालीनबिच हुने प्रतिस्पर्धा र त्यसको जगमा बन्ने अन्तद्र्वन्द्वमा खेलेर फाइदा लिने प्रचण्डको पुरानो बानीकै असर हो, माओवादीमा भावी नेतृत्वको खडेरी । आफू पछिको नेतृत्वको रूपमा किरण र बाबुरामलाई स्थापित गरेको भए आज प्रचण्डपछि माओवादीको भविष्य अन्धकार देखिने थिएन । किरण र बाबुरामले पार्टी छोडेपछि भावी नेतृको रूपमा झिनो आशा गरिएका अनन्त र प्रभाकरलाई स्थापित गर्ने नीति लिन सकेको भए माओवादीजनले केही राहत महसुस गर्न पाउने थिए ।

त्यसो त, वर्षमान र जनार्दनले पनि कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेका छन् । निरन्तर सत्तामा रहँदा दुरुपयोग गर्दै वर्षामान र जनार्दनले चलाएको अनैतिक धन्दाको पर्दा उघ्रिसकेको छ । अर्थमन्त्री हुँदा जनार्दनले बदनामी कमाए । सुन काण्ड लगायतले वर्षमानको छविमा नराम्ररी हिलो छ्यापेको छ । आजसम्म नैतिक पतनको सन्दर्भमा क्लिन रहेका प्रचण्डले वर्षमान र जनार्दनसँग आशा गुमाउनको महत्त्वपूर्ण कारण यो पनि हो ।

माओवादीमा भावी नेतृत्वको सन्दर्भ अन्धकार छ । भावी नेतृत्वबारे चौतर्फी चिन्ता सुरु भएको बेला माओवादीको केन्द्रीय समिति बैठक सम्पन्न भयो । केन्द्रीय समिति कम्युनिष्ट पार्टीको आधिकारिक निकाय हुन्छ । जुन निकायले लिने निर्णयले दूरगामी महत्त्व राख्छ । तर, निक्कै महत्व र चासोका साथ हेरिएको माओवादीको केन्द्रीय समिति बैठकले दूरगामी महत्व राख्ने ठोस निर्णय केही गरेन ।

बैठक अघिको परिस्थिति हेर्दा माओवादीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरको सन्दर्भ घनिभूत ढंगले उठ्ने अनुमान गरियो । तर, भावी नेतृत्वका रूपमा आफूलाई उभ्याउन खोज्ने अनन्त र प्रभाकर ठूलो भयले थिचिएर प्रचण्डको जयजयकारमा उत्रिए । तेस्रो पुस्ताका केही युवा नेताले फाटफुट नेतृत्व हस्तान्तरण र पुस्तान्तरको विषय उठाए पनि अर्थपूर्ण स्थान पाएन ।

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सन्दर्भलाई व्यक्तिको विरोध र समर्थनको विषय ठान्नु गलत हो । अन्य पार्टीहरू जस्तै माओवादीमा पनि नेतृत्वको सन्दर्भलाई प्रचण्डको विरोध र समर्थनको विषय बनाइएको छ । जुन प्रवृत्तिले माओवादीमा भावी नेतृत्वको सन्दर्भ झनै पेचिलो बनेको छ । यस्तै परिस्थिति रहे आठ दशकको उमेरमा पनि प्रचण्ड नै माओवादीको नेतृत्व रहन सक्छन् ।

दृष्टिबाट

लेखक : मिलन लिम्बू