जसपाको पहिलो वरियतामा महन्ध ठाकुर भट्टराईलाई कुन पोजिसन निक्र्योल हुन बाँकी

३१ वैशाख, काठमाडौं । केही साता मात्र समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व व्यवस्थापन बारे छलफल सुरु गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) बीच एकीकरण भएको तीन हप्तापछि नेतृत्वमा को को बस्ने भन्ने विषयमा छलफल गरेका हुन् ।
एकीकृत पार्टीमा ८ जनाको निर्देशक समिति बनाउने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । यो समितिमा पार्टी एकीकरण गर्दा हस्ताक्षर गरेका नेताहरूलाई मात्रै रहने भनिएको छ ।

१० वैशाखमा पार्टी एकता सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरदसिंह भण्डारी तथा सपाबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
साविक राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने निर्देशक समितिमा आफूलाई राख्न माग गरेका छन् ।

१७ सदस्यीय सचिवालय
राजपाका अध्यक्ष मण्डलका ६ सदस्य मध्ये दुईजना पार्टी एकीकरण बैठकमा सहभागी थिएनन् । त्यतिबेला बैठकमा उपस्थित नभएका अनिलकुमार झा, राजकिशोर यादवलाई समेट्ने गरी १७ सदस्य सचिवालय बनाइने विषयमा छलफल भइरहेको राजपाका एक नेताले जानकारी दिएका छन् ।
सचिवालयमा आफ्नो पार्टीबाट ९ र राजपाबाट ८ जना राख्नुपर्ने सपाको माग छ । राजपाले यो प्रस्ताव मान्दा सपाबाट एकीकरणमा हस्ताक्षर गरेका चारजना र नवराज सुवेदी, परशुराम खापुङ्ग, युवराज कार्की, रकम चेम्जोङ र रेणुकुमारी यादव सचिवालयमा पुग्ने देखिन्छ ।
पार्टी विभाजन गर्न लागेको आरोप लागेकी यादवको सट्टा हिसिला यमी वा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पठाउन सक्ने संभावना रहेको स्रोतले जानकारी दिएको छ ।

राजपाले भने आफ्नो पार्टीबाट ९ र सपाबाट ८ सदस्य पठाउनु पर्ने मत राखेको छ । राजपाले ९ सदस्य पाउँदा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, सवेन्द्रनाथ शुक्ल, राजकिशोर यादव र वृषेशचन्द्र लाल सचिवालयमा पुग्ने सम्भावना छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १२५ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने सपाको प्रस्ताव छ । यस्तो अवस्थामा केन्द्रीय कार्यकारिणी २६ र केन्द्रीय समितिमा ६३ जना आफ्नो पार्टीको हुनुपर्ने सपाको माग छ ।

एक नम्बरमा महन्थ, बाँकी वरीयता टुंगिन बाँकी
राजपा र सपा दुबै स्रोतहरूका अनुसार पार्टीको पहिलो वरीयतामा महन्थ ठाकुर रहने यसअघि नै सहमति भइसकेको छ । उनको पद के हुने र ‘सेरेमोनियल’ बनाउने कि कार्यकारी भूमिकामा राख्ने भन्ने कुरा मिल्न बाँकी छ ।
नयाँ शक्तिबाट आएका केही नेताहरू भने बाबुराम भट्टराईलाई पहिलो वरीयतामा राख्न माग गरेका छन् । भट्टराई दोस्रो र उपेन्द्र यादव तेस्रोमा वरीयतामा रहनेमा खासै विवाद देखिँदैन ।
महन्थ ठाकुरलाई ‘सेरोनियल’ नेता मात्रै बनाउँदा कार्यकारी नेतृत्व भट्टराईले गर्ने कि यादवले भन्ने कुरा भने मिल्न बाँकी छ ।
वरीयताको चौथो नम्बरमा राजेन्द्र महतो, पाँचौमा अशोक राई, छैठौंमा महेन्द्रराय यादव, सातौंमा शरदसिह भण्डारी र आठौंमा राजेन्द्र श्रेष्ठ रहने गरी छलफल भइरहेको छ ।
समान वरीयताको माग
राजपाका केही नेताहरूले समान वरीयताको माग समेत राखेका छन् । चौथोदेखि सचिवालयका सबैको समान वरीयता हुनुपर्ने उनीहरूको भनाइ छ ।
‘राजपाले यसअघि गर्दै आएको अध्यक्ष मण्डलको अवधारणामा पनि जान सकिन्छ’ राजपाका एक नेता भन्छन् । प्रस्तावित आठ सदस्यीय निर्देशक समितिलाई नै अध्यक्ष मण्डलको स्वरुप दिन सकिने उनको बुझाई छ ।
तर सामुहिक नेतृत्वमा जाने सम्भावना भने अत्यन्त न्यून देखिन्छ । नेतृत्व चयनबाहेक विधान र घोषणापत्रमा सबै काम सकिएको स्रोतले जानकारी दिएको छ । साविक राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले विधान र घोषणा पत्र लगायतका सम्पूर्ण विषयमा छलफल जारी रहेको जानकारी दिए ।
अनलाईन खबरबाट