Breaking News

मंसिरमा काठमाडौंमा घरजग्गा कारोबार बढ्यो सबैभन्दा बढी कारोबार कलंकी मालपोतबाट

मंसिरमा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो।

विभागको तथ्यांकअनुसार मंसिरमा काठमाडौंमा एक हजार नौ सय नौ संख्यामा किनबेच भएको छ। यो संख्या गत कात्तिकको तुलनामा २८.३७ प्रतिशतले बढी हो।

कात्तिकमा काठमाडौंमा एक हजार चार सय ८७ संख्यामा घरजग्गा किनबेच भएको थियो।

गत वर्ष मंसिरमा भएको कारोबारको तुलनामा पनि यो वर्ष मंसिरमा भएको कारोबार १७.११ प्रतिशतले बढी हो। गत वर्ष मंसिरमा काठमाडौंमा एक हजार ६ सय ३० संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।

विभागको तथ्यांक अनुसार घरजग्गा किनबेच बढेसँगै राजस्व पनि वृद्धि भएको छ। मंसिरमा काठमाडौंमा भएको घरजग्गा कारोबारबाट सरकारलाई ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। गत सोही अवधिमा भएको कारोबारबाट ६५ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

घरजग्गा व्यवसाय सुरक्षित देखिएकाले यसप्रति व्यवसायीको रूचि बढेको हुनसक्ने नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष विष्णु प्रसाद घिमिरेले बताए।

‘बीचमा मानिसहरू सेयर बजारतिर लागेका थिए। त्यो खासै माथि उठ्न सकेन,’ उनले भने, ‘घरजग्गाको लगानी सुरक्षित देखेर घरजग्गा कारोबारप्रति आकर्षित भएको हुनसक्छ।’

व्यवसायीको यो विश्वासलाई निरन्तरता दिन सरकारले पनि नीतिगत रूपमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

सरकारी तथ्यांकले कारोबार बढेको देखाए पनि व्यवहारिक रूपमा भने घरजग्गा कारोबार नबढेको जग्गा तथा आवास विकास संघ, काठमाडौंका अध्यक्ष विदुर धमला बताउँछन्।

‘यो हिसाब मिलान मात्र गरेका हुन्। यसलाई कारोबार बढेको भन्न मिल्दैन। कारोबार भएको मात्रै हो,’ उनले भने।

राष्ट्र बैंकले नीतिगत रूपमा सहजीकरण नगरेसम्म घरजग्गा कारोबार नबढ्ने उनको भनाइ छ।

उनका अनुसार राष्ट्र बैंकले कर्जा आम्दानी अनुपात र लोन टु भ्यालु रेसियोको अनुपात बढाए मात्रै आगामी दिनमा घरजग्गा कारोबार फस्टाउने छ।

काठमाडौंमा कहाँ, कति भयो किनबेच?

काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।

यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।

काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट हुन्छ।

कलंकी कार्यालयबाट यो आर्थिक वर्षको मंसिरमा पाँच सय ६२ संख्यामा घरजग्गा कारोबार भएको छ।

यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।

दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ। यस कार्यालयबाट मंसिरमा चार सय २४ संख्यामा घरजग्गा कारोबार भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।

त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय हो। यस कार्यालयबाट मंसिरमा तीन सय ४२ संख्यामा कारोबार भएको छ। यसको कार्यक्षेत्र बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।

मनमैजु कार्यालयबाट मंसिरमा दुई सय ३८ संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।

डिल्लीबजार कार्यालयबाट एक सय ९५ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।

टोखा कार्यालयबाट एक सय ४८ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।

सुनिता सिटौला