Breaking News

इजलासमा बालकृष्ण खाणसँग २४ सवाल–जवाफ

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले भुटानी शरणार्थी प्रकरणमा आफू विरुद्धको अभियोग राज्यले रचेको ‘षडयन्त्र’ भएको जिकिर गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै खाणले भनेका छन्–‘मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचेको षडयन्त्र हो ।’

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहका योजनाकार केशव प्रसाद दुलालसँग आफ्नो चिनजान नभएको उनले दाबी गरेका छन् । बयानमा उनले भनेका छन्–‘यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ ।’

इजलासमा खाण र इजलास अधिकृतको बीचमा २४ प्रश्नमा सवाल–जवाफ भएको छ । पूर्व गृहमन्त्री खाणले इजलासमा गरेको बयानका सम्पादित अंश  :

सवाल  : तपाईको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था कस्तो छ तपाईलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नु हुन्छ ?

जवाफ  :  म युरिक एसिड, प्रेसर र कोलस्ट्रोलको औषधी नियमित रूपमा सेवन गरिरहेको छु । आँखा सम्बन्धी समस्या
छ । म मलाई सोधिएका प्रश्नहरूको जवाफ दिन तयार छु । कानुन व्यवसायी नियुक्त गरेको छु ।

सवाल  : प्रतिवादीहरू मध्ये क–कसलाई चिन्नुहुन्छ ? निजहरूसँग लेनदेन रिसइबी झगडा छ छैन ?

जवाफ  :  प्रतिवादीहरू मध्ये म टोप बहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र के.सी., शमशेर मियाँ र आङटावा  शेर्पालाई चिन्दछु । टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकोले, टेकनारायण पाण्डे सचिव भएकोले, नरेन्द्र के.सी. मेरो पहिलाको निजी सचिव भएको कारणले, शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष भएको कारण र आङटावा नेपाली कांग्रेसको नेता भएको कारणले चिन्दछु । अरू प्रतिवादीहरूलाई म चिन्दिन ।

सवाल  : गजेन्द्र बुढाथोकी  सहित विभिन्न जाहेरवालाहरूले तपाई समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भने ब्यहोराहरू उल्लेख गरी जाहेरी दिएका छन् । सो सम्बन्धमा तपाईलाई के थाहा छ ? को–को के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसूर गर्नुभएको हो ? खुलाइदिनुहोस् ।

जवाफ  : गजेन्द्र बुढाथोकी समेतका कुनै पनि जाहेरवालाहरूलाई म चिन्दिनँ । मैले चिन्दै नचिनेका र मसँग कुनै सम्पर्क व्यक्तिहरूसँग ठगी गरेको भन्ने जाहेरी ब्यहोरा झुटा  हो । सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन । म माथि लगाइएको उक्त आरोप नियोजित र कपोलकल्पित छ ।

सवाल  : तपाईलाई सह–प्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र के.सी., आङटावा शेर्पा, टेकनारायण पण्डे, टेकनाथ रिजाल समेतका प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा थप बयान समेत पढीबाची सुनाइन्छ, निजहरूले गरेको उक्त बयानहरूको सम्बन्धमा तपाईको के भनाई छ खुलाई दिनुहोस् ।

जवाफ  : प्रतिवादी टेकनारायण पाण्डेले अनुसन्धानको क्रममा थप बयानमा लेखाए बमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुट्टा हो । कसै मार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो । टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान ब्यहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रतिवादी नरेन्द्र के. सी.ले अनुसन्धानको बयानमा खुलाए बमोजिमको कागजको सम्बन्धमा को कसलाई किन लेखिएको हो मलाई कुनै जानकारी भएन । आङटावाको अनुसन्धानको ब्यहोरा सम्बन्धमा मलाई जानकारी छैन ।

सवाल  : तपाईलाई प्रेमराज पन्थीको जाहेरी दरखास्त देखाइन्छ जाहेरी सम्बन्धमा तपाईको भनाई के छर खुलाइदिनुहोस् ?

जवाफ  : प्रेमराज पन्थीलाई म चिन्दिन । केशव दुलाललाई समेत म चिन्दिन । उनीहरूको बीचमा के कस्तो कुराकानी र लेनदेनको कुरा हुन्थ्यो सो कुरा मलाई जानकारी हुने विषय भएन । यसमा म संलग्न छैन। । सो जाहेरी दरखास्त सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवाल  : अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले वैशाख २४ मा गरेको कागज पढ़ीबाची सुनाइन्छ के कसो हो? खुलाइदिनुहोस् ।

जवाफ  : अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले गरेको कागज ब्यहोरा सुनी पाएँ । सुरेन्द्रराज दाहाललाई मैले चिनेको र कहिल्यै कुनै काम गर्दिनु पनि भनेको छैन । कर्मचारी सरुवा सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयको स्पष्ट नीति छ । विभागीय प्रमुख, प्रथम श्रेणीका अधिकृतहरू र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा मन्त्रीस्तरबाट हुन्छ । तत् मातहत कर्मचारीहरूको सरुवा विभिन्न तहहरूबाट हुन्छ । तसर्थ ना.सु. सुरेन्द्रराज दाहालको सरुवा मैले गरे गराएको होइन । उनको रमाना पदस्थापनका लागि पनि कुनै अधिकृतलाई भनेको छैन ।

सवाल  : गृह मन्त्रालयको च.नं. ८४ मिति २०८० वैशाख २६ को पत्रसाथ प्राप्त प्रतिवेदनसा प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको ब्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक ब्यहोरा देखिएको, पृष्ठ १३ को क्र.नं. (क.अ.) नं. १४ को ग नम्बरको दोस्रो पाराग्राफको पृष्ठ १६ को ३.६,३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं.१८ को अन्तमा निष्कर्ष ब्यहोरा फेरबदल भएको प्रतिवेदन गृह मन्त्रालयको च.नं.८४३ मिति २०८० वैशाख २६ को पत्रसाथ प्राप्त भएको देखिन्छ । ती दुई प्रतिवेदहरु मध्ये कुन प्रतिवेदनः आधिकारिक हो ? खुलाईदिनुहोस् ।

जवाफ  : प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो । तसर्थ: प्रतिवेदनमा फेरबदल भएका बुँदाहरूका सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपर्ने हो । परिवर्तन सम्बन्धमा सलाई थाहा हुने कुरा भएन ।

सवाल  : तपाईको मोबाइल परीक्षणबाट मोबाइल ‘रि–फ्याक्ट्री’ भएको भन्ने देखिन्छ, तपाईले प्रस्तुत मुद्दाको तथ्यहरू मोबाइलबाट हटाउनको लागी मोबाइल फर्म्याट गर्नुभएको त होइन ?

जवाफ  : यस सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रमाण मेटाउने कुनै कार्य गरेको छैन ।

सवाल  : काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका–७ मैजुबहालमा रहेको श्यामजंग सिजापतीको घरमा भाडामा बस्ने बालकृष्ण खाणको कोठा खानतलासी गर्दा कोठाको खैरो रङको  नोटबुक थान–१, कालो रंगको डायरी धान–३, आइप्याड थान–२, सम्पत्ति विवरण फारम पाना–३८ च्यातिएर ३ टुक्रा पारिएको कागज जोड्दा नरेन्द्र जी, समेत लेखिएको भनी लेखिएको कागजको टुक्रा पारिएको कागज फेला परेको भन्ने समेत ब्यहोराको बरामदी खानतलासी मुचुल्का मिसिल सामेल रहेको देखिन्छ सो बरामदी मुचुल्काको ब्यहोरा के कसो हो? खुलाइदिनुहोस् ।

जवाफ  : खैरो रंगको नोटबुक थान–१, कालो रंगको डायरी थान–३, आइप्याड थान– २, सम्पत्ति विवरण फारम पाना–३८ वरामद भएको साँचो हो । च्यातिएको कागज टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवाल  : तपाईलाई हिरासतबाट टेकनारायण पाण्डेले तपाईले पीडितलाई रकम फिर्ता गर्नुपर्ने र प्रतिवादी केशव प्रसाद दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न लगाउनु भएको भन्ने ब्यहोराको लिखत मिसिल सामेल रहेको देखिन्छ । सो सम्बन्धमा तपाईको भनाई के छ ?

जवाफ  : यस बारेमा मैले कसैलाई केही भनेको छैन ।

 सवाल  : तपाई उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदन्त (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४को दफा १ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसुरमा सोही संहिताको दफा ५ को उपदफा (४) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा(१)(२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (९) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा(९) बमोजिमको कसुरमा सोही संहिताको दफा ४ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग माग दाबी लिइएको छ र जाहेरवालाहरुको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकम समेत तँपाई समेतबाट दिलाई भराई दिन समेतको अभियोग मागदावी लिइएको अभियोगपत्र छ सो अभियोग मागदावी बमोजिम तपाईलाई सजाय हुनुपर्ने हो होइन र  जाहेरवालाहरुको रकम तपाई समेतले फिर्ता दिनुपर्ने हो वा होइन सम्पूर्ण ब्यहोरा खुलाइदिनुहोस् ।

जवाफ  : मैले म उपर  दायर भएका अभियोग मागदाबी सुनी पाएँ । म विरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोलकल्पित र झुट्टा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचिएको षडयन्त्र हो । माथि अभियोगमा दाबी लिएको कुनै पनि कसुरमा मेरो कहीँकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्य विरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ । यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाइ पाउँ ।

सवाल  : तपाईको परिवारमा कति सदस्य हुनुहुन्छ, आर्थिक व्यवस्था सम्बन्धमा खुलाइदिनुहोस् ?

जवाफ  : मेरो परिवारमा म श्रीमती छोरा छोरी र मेरो आमा गरी पाँच जनाको सदस्य छौ । बुटवलमा एउटा घर छ सो घरबाट घरभाडा आउँछ, जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ । काठमाडौँ अनामनगरमा एउटा पुरानो घर छ सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीहरूबाट हाम्रो जीवन सहजसँग चलेको छ ।

सवाल  : तपाईको बरु केही भन्नु छ ?

जवाफ  : म विद्यार्थी काल देखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिबद्ध प्रजातन्त्र र जनअधिकार र स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको लागी संघर्ष गरेका व्यक्ति हुँ । प्रजातन्त्र प्राप्तिका लागी संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु । राष्ट्र, राष्ट्रियता राष्ट्रहित र राज्य विरुद्ध सोच्न पनि सक्दिनँ । म गाउँबाट आएको एउटा व्यक्ति आफ्नो मेहनत राष्ट्र र जनता प्रतिको समर्पण र प्रजातन्त्र प्राप्तिको प्रतिबद्धताले उठेको मान्छे हुँ । विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनआन्दोलन २०४६ को समयमा सम्हालेको हुँ । मैले २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ ।

२०४८ सालमा प्रतिनिधि सभाको सदस्य २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएँ । मैले पछिल्लो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुनको पालना गर्दै देशमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु । म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधीहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्च समेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्ने बारे सोच्न पनि सक्दिन ।

रातोपाटीबाट

लेखक : राजेश भण्डारी