बचतकर्ताको निक्षेपमा सहकारी अध्यक्षको मनोमानी, निजी घर–कम्पनीमा लगानी सहकारी अध्यक्ष केदारनाथ शर्मा फरार

२६ चैत, विराटनगर । तुलसी बहुमुखी सहकारीका वचकर्ताको रकम अध्यक्षले मनोमानी ढंगले आफ्नो कम्पनी तथा घरजग्गामा लगाएको पाइएको छ ।

१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी निक्षेप दायित्व रहेको सहकारीले करिब डेढ अर्ब कर्जा लगानी गरेको छ । यसमध्ये ४१ करोडभन्दा बढी कर्जा भने सहकारीका अध्यक्ष केदारनाथ शर्माले आफ्नै निजी कम्पनीमा लगानी गरेको देखिएको हो ।

सहकारीको पैसा आफ्नै निजी सम्पत्तिमा लगानी गर्दा सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सहकारी समस्यामा परेको हो ।

१ फागुनदेखि सहकारीको कार्यालय बन्द छ भने अध्यक्ष केदारनाथ शर्मा फरार छन् । सहकारीका बचकर्ताले सहकारी विभागमा गरेको उजुरीको चाङ छ भने बचकर्ताले सहकारीको कार्यालय र प्रशासनमा समेत धर्ना दिएका थिए ।

सहकारीको उपाध्यक्ष, सचिव र व्यवस्थापक ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । बचतकर्ताले ठगीको उजुरी दिएपछि पक्राउ परेका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई जिल्ला अदालत मोरङले शुक्रबार ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको हो ।

सहकारीका सञ्चालक शर्माले बचतकर्ताबाट संकलन भएको रकम नियम विपरीत आफ्नो स्वामित्वमा रहेको कम्पनीमा लगानी गरेको पाइएको प्रहरीको दाबी छ ।

२०७१ सालमा खुलेको सहकारीले विराटनगर, झापाको दमक, उदयपुरको गाइघाट, सिरहाको गोलबजारमा शाखा कार्यालय थियो, जसमा २१ हजार १५४ वटा निक्षेप खाता छन् ।

उनीहरुले बचत गरेको रकममध्ये ४१ करोडभन्दा बढी रकम सहकारीका अध्यक्ष शर्माले आफ्नो ६ वटा निजी कम्पनीमा लगानी गरेको पाइएको छ ।

सहकारी ऐन २०७४ ले आफ्ना सदस्यहरुको मात्रै बचत स्वीकार गर्ने, त्यसको परिचालन गर्न र सदस्यलाई मात्रै ऋण प्रदान गर्नसक्ने व्यवस्था गरेको छ । तर, केदारनाथ शर्मा अध्यक्ष रहेको तुलसी सहकारीले भने उनकै लगानी रहेको विभिन्न प्राइभेट फर्म तथा कम्पनीमा लगानी गरेको पाइएको हो ।

शर्माको शिखर अर्गनाइजेसन मातहत ३१ वटा कम्पनी छ । त्यसमध्ये ६ वटा कम्पनीमा तुलसी सहकारीको ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ लगानी भएको खुलेको छ । सहकारी ऐन विपरीत निजी कम्पनीमा लगानी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए ।

सहकारीको विराटनगरस्थित केन्द्रीय कार्यालयबाट तुलसी मोटर पम्प प्रालिमा २४ करोड ५ लाख ५७ हजार, ६०० रुपैयाँ, नटराज एग्रो प्रालिमा ४ करोड २८ लाख ८० हजार ७७ रुपैयाँ र शिखर अर्गनाइजेसन प्रालिमा ५ करोड ६७ लाख ५० हजार ५८३ रुपैयाँ ऋण लगानी भएको छ ।

सहकारीको दमक शाखाबाट गोर्खा टि एण्ड कफी उद्योगमा २ करोड १५ लाख ७८ हजार ७८७ रुपैयाँ, शिव शिखर अर्गनाइजेसन प्रालिलाई एक करोड ४२ लाख ८४ हजार १३८ रुपैयाँ ऋण प्रवाह भएको छ । गाईघाट शाखाबाट तुलसी अनुसन्धान केन्द्रमा ४ करोड ३ लाख ४४ हजार २०२ रुपैयाँ लगानी गरेको छ ।

सहकारीले ऋण दिएको ६ वटै कम्पनी, तुलसी सहकारीका अध्यक्ष शर्माकै हो । ऋण लगानी गर्दा पर्याप्त धितो राखिएको छैन । सञ्चालक समितिको माइन्यूटका आधारमा ऋण लगानी गरेको खुलेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
स्रोतका अनुसार दमक शाखाबाट ऋण लगानी भएको गोर्खा टि एण्ड कफी उद्योगमा जग्गा एक वाणिज्य बैंकमा धितो राखेर करिब १६ करोड रुपैयाँ ऋण लिइएको छ ।

अध्यक्ष शर्माले सर्वसाधारणबाट उठाएको बचत रकमले आफ्नो निजी घरसमेत बनाएको पाइएको छ ।

जबकी सहकारी ऐन २०७४ को दफा ५० को उपदफा ८ ले यस्तो कार्य गर्न रोकेको छ । उपदफा ८ मा भनिएको छ, ‘सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ट्रेजरी बिल खरीद गर्नबाहेक अचल सम्पत्ति खरीद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म वा कम्पनी वा कुनै बैङ्कको (सहकारी बैङ्क बाहेक) सेयर खरीद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नु हँदैन ।’

बचतकर्ताको पैसाबाट सहकारीले कम्पनीमार्फत उदयपुरमा चार तले भवन बनाएको छ । जसमा गार्डेन मार्ट सञ्चालन गरिरहेको छ । मोरङको लेटाङमा मार्ट सञ्चालनका लागि पाँच करोड लगानी भएको छ । सिरहाको गोलबजारमा सहकारीको कार्यालय र गार्डेन मार्ट खोल्नका लागि चार करोड लगानी गरेको छ ।

झापाको दमकमा मार्टमा २५ करोड लगानी गरेको छ । अध्यक्ष शर्माको नाममा विराटनगर–३ मा एक करोड ८० लाखमा घरसहित १५ धुर जग्गा खरिद गरेको पनि पाइएको छ ।

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय सहकारीको बचत कुनै पनि प्राइभेट कम्पनीमा लगानी गर्न नपाइने बताउँछन् । यसरी लगानी गर्नु पद र बचकर्ताबाट संकलित स्रोत समेत दुरुपयोग भएको उनले बताए । सदस्यको बचत सहकारी ऐन र ऐन अन्तर्गत बनेको नियम, विनियम, भन्दाबाहेक अन्य प्रयोजनमा खर्च गर्नु कसुर गरेको मानिने व्यवस्था रहेको प्रवक्ता उपाध्ययले बताए ।

समितिका सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति बचत वा सेयर रकम हिनामिना गर्नु, तोकिएको भन्दा बढी ऋण प्रदान गर्दा धितो नराख्नु कसुर हुने ऐनमा व्यवस्था छ ।

सहकारीमा २१ हजार १५४ वटा खाता खुलेका छन् । जसमध्ये केन्द्रीय कार्यालय, बिराटनगरका एक हजार ३ सय ७ जना बचतकर्ताले ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए ।

त्यसका आधारमा अनुसन्धान गरेको प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बचतकर्ताको ५० करोड ८८ लाख र श्रेस्ता नखुलेको १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० सहित ६७ करोड ८६ लाख २१ हजार २८६ रुपैयाँ ठगी गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।

२०७१ सालमा विराटनगरमा स्थापना भएको सहकारीको निक्षेप रकम एक अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ छ । एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ ।

ऋण लगानी सहकारीका अध्यक्ष शर्माले आफ्नो कम्पनीमा गरेको लगानी सहितको हो । सहकारीमा १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको श्रेस्ता नदेखिएको जिल्ला अदालत, मोरङमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

केदारनाथ शर्मा पुर्वअध्यक्ष रहेको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले पनि बचकर्ताको रकम फिर्ता गर्न नसकेपछि देशभरका बचतकर्ता उजुरी लिएर सहकारी विभागमा धाइरहेका छन् ।

शिवशिखर सहकारीको रकम दुरुपयोग गरेपछि आफू कनुकुल सञ्चालक समिति बनाएर शर्मा तुलसी सहकारीको अध्यक्ष बनेको सहकारी विभाग स्रोतको दाबी छ । सहकारीको करिब १५ अर्बको निक्षेप दायित्व भएपनि करिब ३ अर्ब मात्रै कर्जा लगानी भएको सहकारी विभागका कर्मचारीहरु बताउँछन् ।

अन्य पैसा कता लगानी भयो भन्न खुलेको छैन । शर्माले सहकारीको पैसा दुरुपयोग गर्नुको साथै बैकबाट समेत करिब साढे ४ अर्ब कर्जा लिएको स्रोतको दाबी छ ।

अनलाइनखबरबाट