Breaking News

ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजियो

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने पनि बताएका छन् ।

रास्वपाका सांसद डा. ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले त्यही अडियोलाई चुनावी हतियार बनाउन खोजिएको बताएका हुन् । लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ ।’

रविले पैसाको लेनदेन हुनु त परेको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं । कडाभन्दा कडा कारवाही गर्छौं । बेथितिको बचाउ गर्दैनौं । बरु उदाङ्दो पारी दण्डित गर्छौं । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ ।’