राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख दोस्रो साता हुने

काठमाडौं । १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख दोस्रो साता हुने भएको छ । प्रतियोगिता वैशाख ७ देखि ९ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । ५२ स्वर्ण पदकका लागि हुने स्पर्धामा सात प्रदेशबाट ६ सय ५८ खेलाडी सहभागी हुने राखेपले जनाएको छ ।

राष्ट्रियस्तरको सो प्रतियोगितामा एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्ण पदकका लागि स्पर्धा हुने खेलकुद प्रतियोगिता तथा योजना विभाग प्रमुख मिनकुमार शर्माले जानकारी दिए ।

प्रतियोगितामा एथलेटिक्समा १ सय ५४, भलिबल र कबड्डीमा समान १ सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडी सहभागी हुनेछन् । व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितालाई सम्पन्न गर्न राखेपका सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ ।