ग्यास लिक भएमा के गर्ने ?

काठमाडौं । पछिल्लो समय नेपालमा खाना पकाउन ग्यासको प्रयोग बढ्दो छ । माग बढेसँगै यसबाट घट्ने घटना पनि बढ्दै गएका छन् । ग्याँस लिक भएर आगलागी हुने, सिलिण्डर नै विष्फोट हुने घट्ना बढिरहेका छन् । जसका कारण मानिसको अंगभंग हुनेदेखि ज्यानै जाने गरेको छ ।

केहि समयअघि मात्रै नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीको काठमाडौंस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारीका आमा हरिकलाको मृत्यु भयो भने गम्भीर घाइते भएका भण्डारी भारतमा उपचाररत छन् ।

त्यसको केहि दिनमै दाङमा पनि सिलिण्डर विष्फोट हुुँदा दुई जना घाइते भए । ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको थाहा पाउन सकिन्छ ।

नेपाल ग्यासले सेफ्टी टिप्स जारी गर्दै ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउन आग्रह गरेको छ । यदि, ग्यास लिक भएमा पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुपर्छ ।

यस्तै, झिल्का आउने वस्तु जस्तै : बिजुलीका उपकरण, स्वीच आदि कुनै हालतमा चलाउन नहुने नेपाल ग्यासले जनाएको छ ।
ग्यास लिक भएमा रेगुलेटर छुटाएर सिलिन्डरको भल्बमा सेफ्टी क्याप लगाई सिलिन्डर खुला ठाउँमा राख्नुपर्नेलगायत सावधानी अपनाउनुपर्ने नेपाल ग्यासले जनाएको छ ।

ग्यास लिक भएमा के गर्ने ?
१. पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुहोस् ।
२. आगोको स्रोतहरू जस्तै : मैनबत्ती, दियो, धूप, सलाई आदि नबाल्नुहोस्, निभाउनुहोस् ।
३. झिल्का आउने वस्तु जस्तै : बिजुलीका उपकरणहरू, स्वीच आदि कुनै हालतमा पनि नचलाउनुहोस् ।
४. झ्याल र ढोका खुला राख्नुहोस् ।
५. रेगुलेटर छुटाएर सिलिन्डरको भल्बमा सेफ्टी क्याप लगाई सिलिन्डर खुला ठाउँमा राख्नुहोस् ।
६. तुरुन्त आफ्नो नजिकको ग्यास विक्रेता वा प्लान्टमा सम्पर्क गर्नुहोस् ।