साउदी अरेबियन क्लब अल हिलाल क्लब विश्वकपको फाइनल प्रवेश

एजेन्सी

साउदी अरेबियन क्लब अल हिलाल क्लब विश्वकपको फाइनल प्रवेश गरेको छ ।

गएराती मोरक्कोमा भएको सेमिफाइनलमा एसियाको प्रतिनिधित्व गरेको अल हिलालले दक्षिण अमेरिकी च्याम्पियन फ्लेमिंगोलाई ३-२ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलको चौथो मिनेटमै अल हिलालले खेलमा अग्रता बनाएको थियो।

ब्राजिलियन फलेमिंगोका म्याथुजिन्होले लुसियानो भिएटोलाई बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा सलिम अल दसारीले गोल गरेका हुन्।

२० औँ मिनेटमा पेद्रोले गोल गर्दै खेललाई एक एकको अवस्थामा ल्याए।

पहिलो हाफको इन्जुरी समयमा फ्लेमिंगो दश खेलाडीमा झर्‍यो। भियटोमाथि खराब ट्याकल गरेपछि गेर्सन दोस्रो पहेँलो कार्ड पाएर मैदान बाहिरिएका थिए। उक्त फाउलमा पाएको पेनाल्टीमा अल दसारीले नै गोल गर्दै  साउदी क्लबलाई पहिलो हाफमै २-१ को अग्रता दिलाए।

७० औँ मिनेटमा अल दसारीले दिएको पासमा भिएटोले गोल गर्दै खेलमा ३-१ को अग्रता बनाए। इन्जुरी समयमा फ्लेमिंगोका पेद्रोले गोल गरे पनि हारबाट टोलीलाई जोगाउन सकेनन्।

अब अल हिलालले उपाधिका लागि रियल मड्रिड र अल अलिबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।