ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ

ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

एफसी बार्सिलोनाका पूर्व डिफेन्डरसमेत रहेका ३९ वर्षिया आल्भेसले गत डिसेम्बरमा बार्सिलोनाको एउटा नाइटक्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनमा पक्राउ परेका हुन्।

उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको
छ ।

यसैबीच उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्।

सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा रहेका उनी हालै मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध भएका थिए।

तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ।

पुमासका अध्यक्ष लियोपोल्डो सिल्भाले क्लवको भावना र यसको मूल्य मान्यताविरूद्ध जाने जो कोहीलाई पनि क्लबले नसहने स्पष्ट पारेका छन्। ‘चाहे जो सुकै होस् क्लबको मूल्य मान्यता र भावनाविरूद्ध जानेलाई क्लबले सहनेछैन’, उनले भने, ‘हामी एक व्यक्तिको आचरणले हाम्रो कामको दर्शनलाई आँच आउन दिनेछैनौं।’

त्यसअघि बार्सिलोनाका लागि ४०८ खेल खेलेका उनले क्लबसँग ६ वटा लिग तथा तीन वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए।