विश्वकप खेलाइने कतारका ८ रंगशाला

एजेन्सी

२१ कात्तिक, काठमाडाैं । सन् २०२२ फिफा विश्वकप सुरु हुन १३ दिन बाँकी छ । प्रतियोगिताको मेजवानीका लागि कतारले आठवटा रंगशाला तयार गरिसकेको छ । हरेक रंगशालाले फरक फरक विशेषता बोकेका छन् । यी संरचनाले विश्वकप हेर्न जाने दर्शकलाई मोहित पार्ने विश्वास गरिएको छ ।

तीमध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशाला योनी आकारको बनाइएको भन्दै संसारभर बदनाम छ ।

सन् १९७८ मा अर्जेन्टिनामा भएको १६ टिम सहभागी विश्वकपपछि कै सबैभन्दा थोरै रंगशालामा प्रतियोगिता आयोजना हुनेछ । सम्भवतः अहिलेसम्मकै सबैभन्दा धेरै विवादास्पद विश्वकप हेर्न जाने समर्थकले भने एकबाट अर्को खेलस्थलमा पुग्न राहत महशुस गर्नेछन् ।

किनभने विश्वकप खेलिने आठवटै रंगशाला सेन्ट्रल दोहाबाट २१ माइल (३३.७९ किलोमिटर ) दूरीमा अवस्थित छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । एकै दिन समर्थकले धेरैभन्दा धेरै खेल हेर्न सम्भव बनाउने प्रयास गरिएको छ ।

सबै रंगशालामा सोलार प्यालन फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । यद्यपी प्रतियोगिता जाडो मौसममा हुन लागेका कारण सहभागीहरुले मध्यपूर्वको चर्को गर्मीको सामना गर्नुपर्ने छैन ।

प्रतियोगिता एक महिनासम्म चल्नेछ । कतारले विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला सोही स्वरुपमा दीर्घकालसम्म राख्ने छैन । कतारी फुटबलको घरका रुपमा एउटा रंगशाला सुरक्षित हुनेछ । एउटा रंगशाला पूर्ण ध्वस्त पारिनेछ भने बाँकी ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई विकासशील देशमा पठाइनेछ ।

विश्वकपमा प्रयोग हुने ८ वटै रंगशालाको अनौठो डिजाइन र विशेषताबारे यहाँ समेट्ने प्रयास गरेका छौं ।

लुसेल रंगशाला
क्षमताः ८० हजार
दोहा सिटी सेन्टरबाट १० माइल टाढा
फाइनलसहित १० खेल सन्चालन हुने

प्रतियोगिताका लागि सबैभन्दा अकर्षक रंगशाला हो– लुसेल रंगशाला । यहाँ फाइनलसहित प्रमुख १० खेल हुनेछन् ।

यो रंगशाला यही वर्ष निर्माण सम्पन्न भएको हो । यसको निर्माणका लागि निर्धारितभन्दा धेरै समय लागेको थियो । यसलाई प्रकाश र छायाको परस्पर क्रिया रहने फेनर ल्यान्ट्रन विधिमा डिजाइन गरिएको छ ।

प्रतियोगिता सकिएपछि यसका अधिकांश सिट निकालिनेछ र विकासशील देशलाई दान दिइनेछ । लुसेल सिटीमा अवस्थित यो रंगशाला ३३ बिलियन पाउण्डमा निर्माण गरिएको हो । विश्वकपपछि यो सिटीमा यति ठूलो रंगशालाको आवश्यकता पर्ने छैन ।

अल जानोव रंगशाला
दर्शक क्षमताः ४० हजार
दोहा सिटी सेन्टरबाट १४ माइल टाढा
विश्वकपका ७ खेल खेलाइने

यो रंगशालालाई यसअघि अल बकराह रंगशालाका रुपमा चिनिन्थ्यो । त्यसलाई परिस्कृत गरेर अल जानोव बनाइएको हो । यसको डिजाइन तटीय शहरको समुद्री विरासतलाई आधार मानेर गरिएको हो ।

यो रंगशालाको छानो स्वचालित हुनेछ । आवश्यक समयमा बन्द गरेर खेल खेलाउन मिल्ने गरी बनाइएको छ । अत्याधुनिक चिस्यान प्रणालीको जडानसँगै यहाँ चर्को गर्मीमा पनि आरामदायी रुपमा फुटबल खेल्न र हेर्न सकिने
बताइन्छ ।

यो रंगशाला ब्रिटिस–इराकी वास्तुकार स्वर्गीय डेम जाहा हदिदले गरेकी हुन् । सन् २०१६ मा हृदयघातका कारण ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । पहिलोपल्ट यो रंगशालाको प्रारम्भिक डिजाइन सार्वजनिक भएलगत्तै भाइरल भएको थियो । आलोचकहरुले यो रंगशालाको बाहिरी आकार योनीजस्तो भएको बताएका थिए ।

त्यतिबेला यस्तो तुलनासँग डेम आक्रोशित बनेकी थिइन् । उनले भनेकी थिइन्, ‘यो वास्तवमै सर्मनाक हो । उनीहरु किन यस्ता वकबास कुरा गरिरहेका छन् । उनीहरु के कुरा भन्न खोजिरहेका हुन् । प्वाल भएका सबै कुरा योनी हुन्छन् ? हास्यास्पद कुरा ।’

विश्वकपका लागि निर्माण गरिएको रंगशाला निर्माण सम्पन्न हुने पहिलो पूर्वाधार हो । यसको निर्माण २०१९ मै पूरा भएको हो । लुसेल रंगशालाजस्तै विश्वकप सकिएपछि यो रंगशालाको पनि २० हजार सिट कटौती गरिनेछ ।

अल बेयट रंगशाला
दर्शक क्षमताः ६० हजार
दोहा सिटी सेन्टरबाट २७ माइल टाढा
उदघाटनसहित विश्वकपका ८ खेल हुने

ठूलोमध्येको एक अल बेयट रंगशालाले उद्घाटनसहित सेमिफाइनल चरणसम्म टिम र समर्थकको आतिथ्य गर्नेछ । यो संरचना परम्परागत अरव शैलीलाई प्रतिनिधित्व गर्ने गरी डिजाइज गरिएको छ । यो रंगशाला अरब टेन्टजस्तै देखिन्छ जसलाई स्थानीय भाषामा बेयट अल सार भनिन्छ ।

कतारको तापक्रम नोभेम्बरमा पनि ३० डिग्रीभन्दा माथि रहने गरेको छ । त्यसैले गर्मीबाट जोगिनका लागि यो रंगशालामा पनि छत लगाइएको छ ।

यो दोहाबाट सबैभन्दा टाढा रहेको रंगशाला हो । तर, रंगशाला परिषरमै अवस्थित पाँचराते होटल र सपिङ सेन्टरका कारण यहाँ पुग्ने समर्थक मोहित हुनेछन् ।

अहमद विन अली रंगशाला
दर्शक क्षमताः ४० हजार
दोहा सिटी सेन्टरबाट १४ माइल टाढा
विश्वकपका ७ खेल खेलाइने

यो रंगशालाको नाम सुरुमा अल रेयान राखिएको थियो । तर, पछि परिवर्तन गरी अहमद विन अली राखियो । प्रीक्वाटरफाइनल चरणसम्मको खेलको आतिथ्य गर्ने यो रंगशाला कतारी संस्कृतिको प्रतिबिम्व हो ।

रंगशालाको मुख्यद्वार नै कतारको प्रतिनिधित्व गर्ने गरी जटिल कौशलको प्रयोग गरिएको छ । जसले देशको प्रारम्भिक इतिहासदेखि व्यपारीकरणसमेत झल्काउँछ । यो रंगशाला मरुमूभिबाट निकै नजिक छ । त्यसैले रंगशालाको बाहिरि क्षेत्र र व्यपारिक स्टलहरु मरुभूमिकै शैलीको बनाइएको छ ।

एजुकेसन सिटी रंगशाला
दर्शक क्षमताः ४० हजार
दोहा सिटी सेन्टरबाट ७ माइल टाढा
विश्वकपका ८ खेल सन्चालन हुने

यो रंगशाला दोहाको केन्द्रबाट ठीक बाहिर संसारभर चर्चित कतार फाउण्डेसनको हाताभित्र छ । क्वाटरफाइनलसम्मका खेलको आतिथ्य यो रंगशालाले गर्नेछ । एजुकेसन सिटी रंगशाला विश्वकपपछि कतारको राष्ट्रिय महिला टिमको घरेलु मैदान हुनेछ ।

यो रंगशाला हिराको आकारमा डिजाइन गरिएको छ । त्यसैले यसलाई मरुभूमीको हिरा उपनाम दिइएको छ । किनभने यसलाई दिनमा टल्किने र रातमा चम्किने गरी निर्माण गरिएको छ ।

यो रंगशालामा सन् २०२१ को फिफा क्लब विश्वकपअन्तर्गत बायर्न म्युनिख र टाइग्रेसबीचको फाइनल खेल खेलाइएको थियो ।

अल थुमाना रंगशाला
दर्शक क्षमताः ४० हजार
दोहा सिटी सेन्टरबाट ८ माइल टाढा
विश्वकपका ८ खेल खेलाइने

यो रंगशालाको डिजाइन ‘गहफिया’ बाट प्रेरित । त्यो भनेको अरवी पुरुषहरुले लगाउने एक परम्परागत टोपी हो । रंगशालाको तस्वीरमा यो प्रष्ट देखिन्छ ।

यो पहिलो विश्वकपस्थल हो जसलाई कतारी वास्तुकार इब्राहिम अल जैदाले डिजाइन गरेका हुन् ।

यो रंगशालाको पनि आधा सिट निकालेर विकासशील देशलाई दान दिइनेछ । रंगशाला क्षेत्रमा मस्जिद र होटल स्थापना गरिएको छ ।

स्टेडियम ९७४
दर्शक क्षमताः ४० हजार
दोहा सिटी सेन्टरबाट ६ माइल टाढा
विश्वकपका ७ खेल सन्चालन हुने

पहिलोपल्ट विश्वकपका लागि ९७४ कन्टेनरको प्रयोग गरी निर्माण गरिएको प्रतिष्ठित रंगशाला हो– स्टेडियम ९७४ । यो रंगशालामा प्रयोग भएका सबै सामाग्रीहरु विश्वकप सकिएसँगै पूर्ण नष्ट गरिनेछ ।

यो रंगशालाबाट दोहा कर्निच र पश्चिमी किनाराको क्षितिज देख्न सकिन्छ । सकेसम्म कम सामाग्री प्रयोग गरी निर्माण गरेर कतारले कार्वन उत्सर्जन कमीका लागि सकारात्मक सन्देशसमेत दिएको छ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशाला
दर्शक क्षमताः ४५ हजार ४१६
दोह सिटी सेन्टरबाट ८ माइल टाढा
विश्वकपका ८ खेल सन्चालन हुने

यो एकमात्र रंगशाला हो जुन कतारले विश्वकप आयोजना अधिकार पाउनुअघि नै निर्माण भइसकेको थियो । यसको निर्माण सन् १९७६ मा गरिएको हो । यहाँ गत वर्ष ४० हजार दर्शकअघि इमिर कपको फाइनल खेल खेलाइएको थियो ।
यो निर्माण भएयता नै देशको राष्ट्रिय रंगशालाका रुपमा रहेको छ । विश्वकपको आतिथ्य गर्नका लागि यहाँ पनि ठूलो मात्रामा पुनर्निर्माण गरिएको छ ।

यहाँ यसअघि एसियाली खेलकुद, खाडी कप र एएफसी एसियन कपको आयोजना भइसकेको छ । सन् २०१९ मा यहाँ विश्व एथलेटिक्स च्याम्पियनसिपको सफल आयोजना भएको थियो ।

सन् २००९ मा यो रंगशालामा ब्राजिल र इंग्ल्याण्डबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो । सन् २०१९ मा यही रंगशालामा लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको थियो ।

डेलीमेलबाट अनुदित