निर्वाचन आयोगले संचार संस्थाको अनुगमन नगर्ने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले संचार संस्थाको अनुगमन नगर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आचारसंहिता पालना भए/नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टीकरण सोधेको भए सच्याउने बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यो जहाँसम्म मिडियाको अनुगमन कुन चिठी कहिले के लेख्यो भन्ने विषय चाहिँ ती गौण हुन्। स्पष्टीकरण सोध्न एउटा टिम बनाइएको छ। उहाँहरूले हेर्नु हुन्छ। अनुगमन गर्नु हुन्छ। सिधा सोध्नु हुन्छ। किनभने स्पष्टीकरण सोध्नका लागि आयोगले अधिकार प्रत्योजन गरेको छ। कारबाही चाहिँ आयोगले गर्नुपर्ने भएकाले पछि हुन्छ। हामी त्यसलाई सच्याउँछौंं। म फेरि पनि प्रष्ट पार्न चाहन्छु–आयोगले कुनै पनि मिडियाको अनुगमन गर्दैन। गर्‍यो भने पनि के रहेछ भनेर थाहा पाउन मात्रै गर्छ। यदि आचारसंहिता विपरीत काम भएको छ भने त्यो कुरा प्रेस काउन्सिलले हेर्ने हो।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यमले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि पटक/पटक दोहोर्‍याए।

उनले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो, नट अगेन’ भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरूलाई पुनः सचेत गराएका हुन्।

उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको बताए।

उनले विज्ञहरूलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गरे।

‘तपाईं नो, नट अगेन भन्नुस् अथवा नो, नेभर अगेन भन्नुस्। तपाईं इलेक्ट अगेन भन्नुस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नुस्। अहिले त आइराखेको छ–इलेक्ट वान्स अगेन भन्न पाइन्छ भन्ने कुरा पनि आएको छ। सबैथोक भन्नुस्। तर भन्दा सभ्य भाषा भनिदिनुस्। भन्दा कसैको चरित्र हत्या नगर्ने गरी भनिदिनुस्। त्यस्तो भन्दा गालीगलौजको शैली नरोजिदिनुस्’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘के यसो भन्नु पनि लोकतन्त्रलाई खण्डित पार्नकै लागि हो भनेर आरोपित हुनुपर्छ भनेर त जति आरोप लागेपछि सहन्छौं नि। यसैमा बसेका छौं। निर्वाचनलाई मिथ्या सूचना, दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिले खण्डित गर्ने र दुषित पार्ने नगरिदिनुस् भनेको यति मात्रै हो। कहाँ त्यो भन्दा बढी भनेको छ ? यत्ति हो भनेको। त्यसकारण हामीले अहिले सामाजिक सञ्जालको व्यवस्थित प्रयोग होस् भन्ने चाहेको हो।’