लकडाउन अझै १५ दिन थप्ने सरकारको तयारी

२२ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण भन्दै सरकारले चैत्र ११ गतेबाट लकडाउन बैशाख २५ गतेसम्म जारी गरेको भएपनि संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन बन्दाबन्दी थप्ने तयारी गरेको छ । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।
मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो ।
भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ ।
केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका छन् । नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् ।