पार्टीभित्रको गलत प्रवृत्ति विरूद्ध प्रचण्डसँग मिलेर अगाडी बढ्ने

वरिष्ठ नेता, माधवकुमार नेपाल

२२ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव नेपालले आइतबार आफूनिकट नेताहरूसँगको भेटमा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल नै आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको जानकारी दिएका छन् ।
’वामदेव र विष्णु पौडेल आएर तपाईं प्रधानमन्त्री नबनि भएन, केपी ओलीबाट पार लागेन भनेका हुन् । मैले छलफल गरौंला भनेको थिएँ,’ नेपाललाई उद्धृत गर्दै नेता नेपालको कोटेश्वरस्थित निवासमा आइतबार भएको भेटघाटमा उपस्थित एक नेताले भने ।
आफूले छलफल गरौंला भन्दा पनि उनीहरूले केपी शर्मा ओलीबाट पार्टी नचल्ने भन्दै चाँडै निर्णय गर्नुपर्ने जोड गरेको पनि नेता नेपालले बताएका थिए ।
‘केपीले टेर्दै टेरेनन्, पार्टी नै चलाउन नसक्ने मान्छेलाई प्रधानमन्त्री राखेर कहाँ हुन्छ ? कुनै पनि हालतमा हुँदैन तपाईं नै बन्नुपर्छ भन्ने वामदेव र विष्णु नै हुन्,’ नेपाललाई उद्धृत गर्दै ती नेताले भने ।

उनीहरूले त्यस्तो प्रस्ताव राखे पनि आफूले प्रधानमन्त्री बन्ने कुरालाई गम्भिरतापूर्वक नलिएको पनि नेता नेपालले बताएका थिए । आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर आएका नेताहरूले नै पछि दोहोरो भूमिका खेलेको पनि नेता नेपालले आरोप लगाएका थिए ।
’जसले मसँग प्रधानमन्त्रीको प्रस्ताव लिएर आएका थिए, उनीहरूले नै दोहोरो भूमिका खेले,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्री मेरो कुनै चाहना होइन, मैले पार्टीमा विधि र पद्धति बसाउन खोजेको हो ।
वामदेव गौतमको भैंसेपाटी निवासमा वैशाख ११ गते भएको बैठकमा विष्णु पौडेल पनि उपस्थित थिए । प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उपस्थित सो भेलामा सरकारले ल्याएको अध्यादेश गलत भएकोले फिर्ता लिनुपर्ने र स्थायी कमिटी बैठक बोलाउनु पर्ने सहमति भएको थियो ।
त्यही दिन गौतमले टेलिफोनमा प्रधानमन्त्री ओलीसँग कुरा गर्दै उनले राजीनामा दिनुपर्ने बताएका थिए । नेता नेपालले सो भैंसेपाटी भेला भन्दा धेरै अगाडि नै गौतम र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको आफू निकट नेताहरूलाई जानकारी दिए ।

नेपाल खेमाका नेताहरू अहिले आएर पौडेलले सुरूदेखि नै दोहोरो भूमिका खेलेको आशंका गरेका छन् । उनी भैंसेपाटी भेलामा कुरा बुझ्न आएको र दोहोरो भूमिका खेलेको देखियो,’ एक नेताले भने, ‘वामदेव गौतमलाई अन्ततः प्रधानमन्त्रीसँग निकट बनाउन पनि पौडेलले नै पछिल्ला दिनमा ठूलो भूमिका खेल ।
उपाध्यक्ष गौतमले सचिवालयमा एक्कासि गुट परिवर्तन गरेर ‘युटर्न’ लिएर सचिवालयमा आफूहरू अल्पमतमा पर्ने भएपछि त्यहाँ विषय अगाडि नबढाएको पनि नेता नेपालले निकटहरू लाई ब्रिफिङ गरेका थिए ।
सचिवालयमा अल्पमतमा रहने प्रधानमन्त्री ओली शनिबार भने बहुमतमा थिए । पक्ष–विपक्षमा गएको भए ओली, गौतम, ईश्वर पोखरेल, पौडेल र रामबहादुर थापा एकातिर हुने थिए भने प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठ अर्कातिर ।
प्रधानमन्त्री ओलीले आत्मालोचना गरेकाले अरू धेरै विषयमा छलफल नभएको भनेर वरिष्ठ नेता नेपालले बताएको केन्द्रीय सदस्य निरज आचार्यले बताए ।
’स्थायी समितिमा जाने भनेपछि धेरै कुरा गरिएन । सरकार पार्टीमार्फत् चल्नुपर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेट पार्टीको नीतिअनुसार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ नेपालको भनाइ उद्धृत गर्दै आचार्यले भने, ’ओलीको आजसम्मको व्यवहार हेर्दा सच्चिनुहोला भन्ने लाग्दैन । अब जे जति सबै स्थायी समितिले गर्छ ।
छलफलमा सहभागी केन्द्रीय सदस्य रचना खड्काले पार्टीलाई विधि र प्रक्रियामा चलाउने सहमति भएको जानकारी वरिष्ठ नेताले गराएको बताइन् । यो पार्टीलाई विधि र प्रक्रियामा चलाउने लडाइँ हो। विधिमा चल्छ भने मिल्छ, नत्र मिल्दैन,’ नेपालको भनाइ उद्धृत गर्दै उनले भनिन् ।
नेता नेपालले आइतबारको छलफलमा ’आफू र प्रचण्डबीच कुनै मतभेद नरहेको र आपसी विश्वास नटुटेको’ भन्दै आश्वस्त पार्न खोजेको छलफलमा सहभागी एक स्थायी समिति सदस्यले सेतोपाटीलाई जानकारी दिए ।
’हिजोको सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जाँदा प्रचण्डजीले मसँग सल्लाह गर्नुभएको थियो । उहाँहरूबीच स्थायी समिति बैठक डाकेर अघि बढ्ने बाहेक अरू कुनै समझदारी भएको छैन,’ छलफलमा नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्थायी समिति सदस्यले भने, ’मेरो र प्रचण्डजीको सहयात्रा जारी छ ।
नेपालले ’पार्टीभित्रको गलत प्रवृत्ति विरूद्ध प्रचण्डसँग मिलेर लड्ने र आपसी समझदारीमै पार्टीलाई संगठित बनाएर लैजाने’ विश्वास दिलाएको ती सदस्यले बताएका
छन् ।