एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेभन जेरार्डलाई बर्खास्त

एजेन्सी

इंग्लिस क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेभन जेरार्डलाई बर्खास्त गरेको छ।

प्रिमियर लिगमा बिहीबार राति फुलहमसँग ३–० गोल अन्तरले पराजित भएसँगै भिल्लाले आफ्ना मुख्य प्रशिक्षक जेरार्डलाई बर्खात गरेको हो।

प्रिमियर लिगमा यो सिजन भिल्लाले निकै कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको क्लवका प्रवक्ताले जानकारी दिए।

जेरार्डलाई बर्खास्त गरेपछि क्लबका प्रवक्ताले स्टेभनको कडा परिश्रम र प्रतिबद्धताको लागि धन्यवाद दिएका छन्।

जेरार्ड ११ महिनाअघि रेन्जर्स छाड्दै भिल्लामा डीन स्मिथको ठाउँमा मुख्य प्रशिक्षक बनेका थिए।

तर, पूर्व इंग्ल्यान्ड र लिभरपुलका ४२ वर्षे मिडफिल्डरको प्रशिक्षणमा भिल्लाले यो अवधिमा ४० खेल खेल्दा मात्र १३ खेलमा मात्रै जित निकाल्न सक्यो।

भिल्लाले यो सिजन खेलेका ११ खेलमा दुई वटामा मात्र जित निकालेको छ। तीन बराबरी र ६ हार बेहोर्दै ९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान मात्रै माथि छ।

फुलहमसँगको हारसँगै जेरार्डले यो हार महँगो परेको भन्दै आफूहरू त्यहीँ स्थितिमा पुगेको बताएका थिए।

‘फुलहमसँगको हार हामीलाई महँगो परेको छ । हामी आँफैलाई त्यही स्थितिमा पाएका छौं । मैले त्यस्तै स्थितिमा जिम्मा लिए । हामी टोलीलाई माथि लैजान प्रयास गर्नेछौं,’ जेरार्डले बिबीसी म्याच अफ दी डेसँग भने, ‘म लडाकु हुँ । यो मेरो डिएनएमा छ, म लडिरहनेछु।’

यस्तो भनेको करिब १ घन्टापछि उनलाई क्लबले बर्खास्त गर्‍यो।