अध्यष प्रचण्डसँग नेता नेपालले स्पष्टता खोज्ने

२१ वैशाख, काठमाडौं । हिजो शनिबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको समझदारीबारे प्रचण्डसँग स्पष्टता खोज्ने भएका छन् पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले ।
शनिबार साँझ भएको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भनाइमा बोली मिलाउँदै पार्टीभित्रको विवाद सकिएको र एकता मजबुद् पारेर जाने बताएपछि नेता नेपाल पक्ष सशंकित भएका छन् । त्यसअघि बुधबार भएको सचिवालय बैठकमा प्रचण्ड र नेपाल दुबैले प्रधानमन्त्री ओलीको राजीनामा मागेका
थिए ।
प्रचण्डले बैठकमा लामो कुरा राख्दै प्रधानमन्त्री ओलीले पार्टी एकताको स्पिरिटविरूद्ध काम गरेको, नेताहरूको अवहेलना गरेको, दुई अध्यक्षहरूबीच बस्ने टेबल कुर्सीमा समेत भेदभाव गरिएको तीखो टिप्पणी गर्दै राजीनामा मागेका थिए ।
बुधबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने मौखिक प्रस्ताव ल्याएका थिए ।
प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीको उक्त प्रस्ताव बदनियतपूर्वक आएको निष्कर्ष निकालेका थिए । सही नियतले त्यो प्रस्ताव ल्याएको भए सचिवालयले लिखित रूपमा प्रधानमन्त्रीको राजीनामा र वामदेवलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नुपर्ने अडान लिने प्रचण्ड–नेपालबीच सहमति भएको थियो ।