सरकारद्धारा बैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय

२१ वैशाख, काठमाडौं । सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन् ।
सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ । बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनु पर्ने कानुनी मान्यता रहेको छ ।