प्रचण्ड–केपीको ४० मिनेटको गोप्यमा काम फत्ते

२१ वैशाख, काठमाडौं । विवादको चरम विन्दुमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा २४ घन्टा अघिसम्म देखिएको तीव्र मतभेद र अन्तरविरोध नाटकीय रूपमा हिजो राती भएको सचिवालय बैठकबाट साम्य भएको छ ।
हिजो शनिबार साँझ सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच ४० मिनेट एक्लाएक्लै भेट भएको थियो । त्यो भेटमै प्रचण्डले ओलीसँग कुरा मिलाएको वा सम्झौता गरेको अनुमान गरिएको छ ।
सचिवालय बैठक सुरू हुँदा नै त्यसको छनक देखिने गरी प्रधानमन्त्री ओली र प्रचण्डको कुर्सी सँगसँगै राखिएको थियो । यसअघि बुधबारको सचिवालय बैठकमा रातो कपडाले छोपिएको ओलीको टेबल हलको अग्रभागमा थियो । त्यसपछि अरू सदस्यका टेबल वरिपरि थिए, जुन सेतो कपडाले ढाकिएको थियो । यसबाट ओली एक्लैले बैठक अध्यक्षता गरेजस्तो देखिन्थ्यो ।
उक्त बैठकमा प्रचण्डले प्रधानमन्त्रीको आलोचना गर्दै राजीनामा माग्दा दुई अध्यक्षबीच टेबल र कुर्सीमा गरिएको विभेदको विषय पनि उठाएका थिए ।
शनिबारको बैठकमा भने दुई अध्यक्षका लागि रातो कपडाले छोपिएका टेबल र उस्तै कुर्सी सँगसँगै राखिएका थिए । अरू सदस्यको टेबल अघिल्लो बैठकझैं सेतो कपडाले छोपिएको थियो ।
प्रसन्न मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले बैठक सुरू गर्दै भने, ’हाम्राबीच तीतापिरा भए, पार्टी विभाजन होला कि भन्ने ठाउँमा पनि पुग्यौं, तर एकता गर्नुको विकल्प छैन । त्यसैले हामी मिलेर अगाडि जानुपर्छ ।
उनले आगामी दिनमा पार्टीलाई थप एकताबद्ध र बलियो बनाउने भन्दै सबै नेता सच्चिएर अगाडि बढ्नुपर्ने बताए ।
’प्रधानमन्त्री र प्रथम अध्यक्षका रूपमा सबभन्दा धेरै आत्मालोचना म गर्छु,’ उनले भने, ’अरू नेताहरूले पनि आ(आफ्नो भागको आत्मालोचना र समीक्षा गर्नुहोला ।
प्रधानमन्त्रीले शनिबारको बैठकमा धेरै लामो बोलेनन्। उनीलगत्तै अर्का अध्यक्ष प्रचण्डले भने, ’पार्टीलाई अब एकताबद्ध बनाएर जानुपर्छ, कमी–कमजोरी भए होलान्, हामी सबै सच्चिएर अघि बढ्नुपर्छ ।
बुधबारको सचिवालय बैठकमा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका र उनको तीखो आलोचना गरेका प्रचण्डले एक सय असी डिग्री फर्किएर राजीनामाको मुद्दा मात्र छाडेनन्, सँगै मिलेर अगाडि जानुपर्ने पनि बताए ।
प्रचण्डले नै प्रधानमन्त्री ओलीसँग मिलेर जाने बताएपछि राजीनामाको कुरा सकिएको छ ।
नेकपामा त्रिपक्षीय शक्ति सन्तुलन छ । प्रधानमन्त्री ओली, प्रचण्ड र माधवकुमार नेपालका तीन समूह पार्टीमा सक्रिय
छन् । यी तीनमध्ये दुई जना एकठाउँ उभिनेबित्तिकै पार्टीमा बहुमत पुग्छ ।
प्रचण्ड एकाएक किन फर्किए भन्ने यकिन छैन। पछिल्लो साता भैंसेपाटीमा भेला भएर ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै स्थायी समिति बैठक माग गर्ने निर्णयमा पुगेका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेलमध्ये गौतम र पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।
बुधबारको सचिवालय बैठकमै प्रधानमन्त्रीको प्रस्तावको समर्थन गरेका पौडेल र गौतम पछिल्ला दुई दिनमा प्रधानमन्त्रीसँग झनै नजिक भए। शुक्रबार र शनिबार पनि गौतमलाई प्रधानमन्त्रीसँगै मिलेर जान पौडेलले लामो कुरा गरेका थिए ।
शनिबार दिउँसो गौतमसँग प्रधानमन्त्रीले बालुवाटारमा भेट गरेका थिए। गौतम र पौडेलले प्रधानमन्त्री ओलीलाई पूरै साथ दिएपछि उनी बलियो बन्न सक्ने अनुमान गरेर प्रचण्डले सम्झौता गरे वा व्यक्तिगत लेनदेन गरेर सम्झौता गरे भन्ने प्रस्ट छैन ।
गौतम र पौडेलको प्रधानमन्त्रीलाई बलियो साथ र पछिल्ला दिनमा उनले सांसदहरूमाझ गरेको लबिङपछि उनी बलियो भएको ठानेर प्रचण्ड र नेपाल युद्धविरामको मनस्थितिमा पुगेका हुन् वा प्रचण्डले एक्लै निर्णय गरेका हुन् भन्ने पनि खुलेको
छैन ।
नेता नेपालनिकट एक स्थायी समिति सदस्यले प्रचण्ड र नेपालबीच पछिल्ला दिनमा गहिरो विश्वासको वातावरण बनेकाले प्रचण्डले एक्लै निर्णय गरे होलान् भन्ने आफूलाई नलागेको बताए ।
’मेरो माधव कमरेड र अरू सचिवालय सदस्यहरूसँग कुरा भएको छैन, त्यसैले यसै हो भन्न सक्दिनँ,’ उनले भने ।

प्रचण्ड र माधव नेपाल एक ठाउँ उभिएर आफूलाई हटाउने माग बलियो बन्दै गएपछि प्रधानमन्त्री ओलीले आफूसँग मिल्न दुवैलाई छुट्टाछुट्टै प्रस्ताव पठाएका थिए । गत आइतबार ओलीका विश्वासपात्र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीसँग मिल्नुपर्ने प्रस्ताव लिएर प्रचण्डकहाँ पुगेका थिए । पोखरेलले दुई पार्टी एकीकरण गर्न ओली र प्रचण्डले मुख्य भूमिका खेलेको भन्दै दुई जना एकठाउँ आउनुपर्ने तर्क गरेका थिए । ’कमी–कमजोरी भए होलान्, त्यसलाई सच्याउन सकिन्छ, दुवै अध्यक्ष मिल्नुको विकल्प छैन,’ उनले भनेका थिए ।
शुक्रबार दिउँसो पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट भएको थियो। उक्त भेटमा प्रधानमन्त्रीले प्रचण्डलाई पार्टीमा एकल अध्यक्ष बस्न र आफू संसदको बाँकी कार्यकालका लागि प्रधानमन्त्री मात्र रहने प्रस्ताव गरेको चर्चा चलेको थियो। तर, त्यो प्रस्ताव कसैले पुष्टि गरेनन् ।
शनिबार सचिवालय बैठकअघि प्रधानमन्त्रीसँग भेटेर आएपछि प्रचण्डले नेपाल खेमालाई धोका दिएर सम्झौता गरेको कतिपयले अनुमान गरेका छन् । यो सत्य हो भने पार्टी एकीकरणपछि नेपाललाई प्रचण्डले धोका दिएको यो दोस्रोपटक हो ।
प्रधानमन्त्री ओलीले एक्लौटी रूपमा पार्टी चलाएपछि करिब एक वर्षअघि प्रचण्ड र नेपाल नजिकिएका थिए। उनीहरूबीच प्रधानमन्त्री ओलीविरूद्ध एकठाउँ उभिन लिखित रूपमै सम्झौता भएको एक स्थायी समिति सदस्य बताउँछन् ।
प्रचण्डले नेपालसँग लिखित सम्झौता गरेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफ्नो पक्षमा तान्ने कोशिस सुरू गरे । अन्ततः सिंगापुर उपचार गर्न जानुअघि प्रचण्ड र ओलीबीच लिखित सहमति भयो । प्रधानमन्त्री ओलीले यो संसदको अवधिभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो ।
उक्त सहमतिसँगै प्रधानमन्त्री ओलीले नेता नेपाललाई अपमानित गर्दै पार्टीमा उनको वरियता घटाइदिएका थिए । ओली र प्रचण्डपछि तेस्रो वरियतामा रहेका नेपाललाई एक तह घटाउँदै सचिवालय बैठकले चौथोमा पुर्याएको थियो भने झलनाथ खनाललाई चौथोबाट तेस्रो वरियतामा उकालिएको थियो । यसरी नेपालको वरियता घटाउने निर्णय गर्दा प्रचण्डले ओलीलाई साथ दिएका थिए ।
केही दिनअघि प्रधानमन्त्रीलाई भेटेकी चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् । प्रचण्डको निजी निवास खुमलटारमा राजदूतले एक घन्टा छलफल गरेकी थिइन् ।
नेपाल सरकारले चीनबाट किनेको स्वास्थ्य सामग्रीबारे छलफल भएको भनिए पनि चीनले नेकपाभित्र चलेको शक्ति संघर्ष साम्य पार्न पहल गर्यो कि भन्ने कतिपयको अनुमान छ । दुई अध्यक्षबीच कुरा मिलेपछि बुधबार प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका वामदेव गौतमबारे शनिबारको बैठकमा झन्डै विषय नै उठेको थिएन ।
सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले ’गौतमलाई प्रतिनिधिसभा वा राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीबाटै आएको थियो, त्यो विषय के भयो ?’ भनी प्रश्न गरेका थिए । त्यसपछि मात्र ’उपयुक्त समयमा गौतमलाई प्रतिनिधिसभामा लैजाने’ निर्णय भयो ।
यो निर्णयसँगै अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने बाटो पनि खुलेको छ। प्रधानमन्त्री ओलीले गत फागुनमै आफ्ना विश्वासपात्र खतिवडालाई राष्ट्रियसभामा लैजान चाहेका भए पनि पार्टी्भित्रको विवादले सम्भव भएको थिएन ।
फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले भने दुवै जनाको नाम सिफारिस गरेका थिएनन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने भएकाले राष्ट्रियसभामा एक जना सांसदको स्थान खाली छ ।
फागुन २१ गते राष्ट्रियसभा सदस्यहरूको सपथ भएको थियो। सांसद नभए पनि छ महिनासम्म मन्त्री हुन पाउने भएकाले खतिवडाले मन्त्रीको सपथ लिएका थिए ।
पार्टीभित्र चुलिएको विवाद कसरी एकाएक साम्य भयो भन्ने प्रश्नमा सचिवालय सदस्य झलनाथ खनालले सेतोपाटीसँग भने, ’दुवै अध्यक्षले एकताबद्ध भएर अगाडि जाने र विधिबाट पार्टी चलाउने भन्नुभयो । हामी सबैले त्यसलाई समर्थन गर्यौं ।
पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ । विगतका अनुभवको समीक्षा गर्नुपर्छ,’ खनालले भने, ’चाँडै स्थायी समितिको बैठक बोलाएर त्यसैमा सबै कुरा छलफल गर्नुपर्छ । उनले स्थायी समिति बैठकमा बृहत् छलफल गरेर पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताए । सेतोपाटीबाट