नेपाली जनता कोरोना महामारीका विरुद्ध लडिरहेका बेला केही सञ्चार माध्यम र सामाजिक सञ्जाले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरे

– प्रधानमन्त्री

बैशाख १९, काठमाण्डौ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो मार्फत् भन्नु भएको छ, सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका छन् ।
‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,’ आज मे दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्रीले, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ । अर्कातिर यही अफ्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःख कुरा
हो ।
आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।
तर, श्रमिक दिवसको अवसरमा प्रधानमन्त्रीले दिएको सन्देशमा सञ्चारमाध्यम र सामाजिक सञ्जालले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको लाञ्छना किन लगाए त ? त्यसमा पनि प्रधानमन्त्रीले ‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट आउनु राष्ट्र र जनताको लागि अलि राम्रो सन्देश गएनकी ?
प्रधानमन्त्रीबाटै यस्तो धम्कीको भाषा प्रयोग हुनु आश्चर्यजनक मात्र छैन, सञ्चारमाध्यम र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै यसले प्रश्नचिन्ह खडा गरिदिएको छ ।
आखिर, ‘सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला’ नेपालमा रजानीतिक अस्थिरता कसले निम्त्याउँदैछ ? सरकार र सत्तारुढ नेकपाका नेताहरुले कि सञ्चार माध्यमले ? प्रधानमन्त्रीको सम्वोधनपछि यो बहसको प्रश्न खडा गरेको पनि छ ।