हुम्ला । हुम्लामा हिमपात भएको छ । गएरातिदेखि हिमपात सुरु भएको हो । त्यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको छ। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय हुम्लाले आग्रह गरेको छ ।