निम्नवर्गीय श्रमजीवि जनताका लागि सरकारले विशेष राहत व्याकेज ल्याउनु पर्छ

– अध्यक्ष प्रचण्ड

बैशाख १९, काठमाण्डौ । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।
अध्यक्ष प्रचण्डले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभएबको छ ।