Breaking News

काठमाडौँको नागढुंगादेखि धादिङ हुँदै चितवनको मुग्लिङसम्मको सडकका विभिन्न स्थानमा सवारीसाधन रोकेर सडक कटान गरिदै

काठमाडौँ । काठमाडौँको नागढुंगादेखि धादिङ हुँदै चितवनको मुग्लिङसम्मको सडकका विभिन्न स्थानमा सवारीसाधन रोकेर सडक कटान गर्न थालिएको छ । मलेखु–मुग्लिङ खण्डमा पर्ने विशालटार, नौबिसे–मलेखुमा पर्ने पोखरे र धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित सिस्ने खोला क्षेत्रमा मोड सुधार गर्न ‘हिल स्लोप कटिङ’ सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले सो क्षेत्रमा आंशिक रूपमा सडक बन्द हुनेबारे यसअघि सूचना प्रकाशन गरेको थियो । सडक कटान सुरु भएको क्षेत्रमा मध्याह्न ११ बजेदेखि २ बजेसम्म पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

प्रहरीले सो क्षेत्रमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधनलाई चल्न दिएको छैन । एसपी सुवेदीले भने, ‘पुस १३ गतेसम्म सडक निर्माण र विस्तारका लागि सो क्षेत्रमा मध्याह्न ३ घण्टा सवारी साधन चल्न नदिने निर्णय गरिएको छ ।’

प्रहरीले सडक कटान गर्नुपर्ने क्षेत्रमा समय तोकेर मोटरसाइकल पनि सञ्चालनमा रोक लगाएको छ ।