लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौँ चुली’को पोखरामा गृह लोकार्पण भएको छ । सन् १९५० मा पहिलोपटक अन्नपूर्ण फर्स्टको आरोहण गरेको दिन पारेर गरिएको उक्त कार्यक्रममा लेखक सरुभक्त र सीमाविद् मधुसूदन अधिकारले सयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

उक्त कार्यक्रममा सरुभक्त, मधुसूदन अधिकारी र नेपाल माउन्टेन एकेडेमीका निर्देशक उक्तमबाबु भट्टराईले पुस्तक विभिन्न आयाम माथि चर्चा गरे । उत्तमबाबु भट्टराईले ‘पन्ध्रौँ चुली’ साहित्यकारका लागि खुराक भएको र अध्येता तथा विद्यार्थीलाई सन्दर्भ सामग्री भएको बताए । उनले थपे, ‘हामी कहाँ ६ हजार मिटरभन्दा अग्ला १३ सयभन्दा बढी हिमालहरू छन् तर तिनको गहिरो अध्ययन भएको छैन । तिनको अध्ययन हुनुपर्छ । खिमलाल गौतमको यो पुस्तक त्यस्तो अध्ययनका लागि प्रस्थानविन्दु हुन सक्छ ।’

अर्का वक्ता अधिकारीले भने, ‘सगरमाथाको उचाइ मात्र होइन, गहिराइ पनि छ । लेखक खिमलाल गौतमले सगरमाथाको उचाइ त नापेका नै छन्, त्यसको गहिराइ पनि नापेका छन् ।’ सगरमाथा आरोहणबारे ‘चुली’ उपन्यास लेखेका सरुभक्तले भने, ‘पुस्तक पढ्दै गर्दा मलाई मैले काल्पनिक आरोहीको कथा जुन मैले लेखेको थिएँ, त्यही काल्पनिक आरोही भएर सगरमाथा चढिराखेको झैँ  महसुस गरेँ । कति ठाउँमा म भावुक भए, कति ठाउँमा रोमाञ्चित ।’ उनले थपे, ‘पन्ध्रौँ चुली उच्च कोटीको साहित्य त हो नै, सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणको उच्च कोटीको इतिहास पनि हो ।’

कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नाका कारणबारे केही बताए । उनले केही आफ्ना निजी अनुभव पनि सुनाए । ‘पन्ध्रौँ चुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र गर्‍यौँ, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उनले भने, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भ सामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैपर्‍यो भनेर यसमा हात हालेको हुँ ।’